हिमाल दैनिक
विधिको शासन स्थापना गर्न आन्दोलनमाः झाँक्री
Ramkumari Jhankri
प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताउनुभयो । संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उहाँले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताउनुभयो । न्यायलय कोही कसैबाट प्रभावित हुन नहुने विचार व्यक्त गर्दै नेत्री झाँक्रीले भन्नुभयो, “विधिको शासन कायम गर्ने अन्तिम जिम्मेवारी अब न्यायालयको काँधमा आइपुगेको छ । सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ ।” जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई वर्तमान सरकारले दुरुपयोग गरेको उहाँको आरोप थियो । विरोधसभामा नेकपाका केन्द्रीय सदस्यत्रय नरबहादुर विष्ट, विन्दमान विष्ट र झकबहादुर मल्लले सङ्घीयता खतरामा परेको र त्यसको रक्षाका निम्ति संसद् पुनःस्थापना अपरिहार्य रहेको दावी गर्नुभयो । आज प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाले कर्णालीका १० वटै जिल्लामा विरोध प्रदर्शनका साथै सभा कार्यक्रम सम्पन्न गरेका छन् । रासस
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update