नेकपाको प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृतिलाई जनताको बलबाट ध्वस्त पार्नुपर्ने बताएका छन्।
बुधबार बागमती प्रदेशको अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले जनताको शक्तिलाई परिचालन गरेर प्रधानमन्त्री ओलीको प्रतिगमनलाई ध्वस्त पार्नुपर्ने बताए।
उनले नेपालमा रहेको एक सय वर्षको राणा शासन, पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नुपर्ने विचार व्यक्त गरे।
त्यस्तै नेता खनालले मुलुकमा स्थायित्व कायम गर्न संविधानमा पाँच वर्षसम्म संसद विघटन गर्न नसक्ने व्यवस्था गरेको भन्दै उनले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको दाबी गरे।
प्रधानमन्त्रीले संविधानको बलात्कार गरेर संविधानको मर्म र भावना विपरित संसद विघटन गरेको भन्दै लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए। संविधान र लोकतन्त्रको रक्षा गर्न नसके अस्थिरतातर्फ देश धकेलिने भन्दै उनले यसका विरुद्धमा लड्नुपर्ने अवस्था आएको बताए।
त्यस्तै नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिगामी प्रवृति लोकतन्त्र र आम जनताको इच्छा र आकांक्षा विपरित रहेको भन्दै जनताको बलिदानबाट प्राप्त उपलब्धी रक्ष ागर्न अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले बालुवाटारमा गरिएको ओली पक्षको भेला संविधान र लोकतन्त्र विरोधीको भेला भएको समेत टिप्पणी गरे।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय