हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापकै नीतिकै आधारमा कम्युनिष्टहरु लोकतान्त्रिक शासन व्यवस्थामा आएपनि उनीहरुको अविश्वसनीय गतिविधिका कारण लोकतन्त्र खतरामुक्त नरहेको बताएका छन्। पार्टी संस्थापक नेता बीपी कोइरालाले ४४ वर्षअघि निर्वासन त्यागेर राष्ट्रिय मेलमिलापको नीतिक अंगिकार गर्दै स्वदेश फर्किएको अवसरमा पार्टी प्रचार विभागले बिहिबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले लोकतन्त्रको रक्षा गर्न कांग्रेस नेता, कार्यकर्ता चनाखो हुनु पर्ने बताए। निर्वासनको जीवन त्यागेर राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किँदा स्वदेशभित्रको असहज परिस्थितिमा जे पनि हुन सक्ने अवस्थाबारे जानकारी हुँदाहुँदै पनि बीपी कोइराला राष्ट्रियता र प्रजातन्त्रको रक्षार्थ राजासँग मेलमिलापको नीति लिएर स्वदेश फर्किएको देउवाले बताए। भारतले सिक्किमलाई विलय गराएपछि नेपालको स्थिति पनि त्यही हालतमा नपुगोस् भन्ने भावनाले नै बीपी नेपाल फर्किएको बताउँदै त्यही मेलमिलापको नीतिकै आधारमा ०४६ सालमा भएको आन्दोलनपछि राजा विरेन्द्र देशमा प्रजातन्त्र पुनस्र्थापना गर्न र राजासहितको बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्था र प्रजातान्तिक संविधान निर्माण गर्न तयार भएको देउवाको दाबी थियो। यसरी स्थापित प्रजातन्त्र र संविधानलाई राजा ज्ञानेन्द्रले च्यातेर प्रत्येक्ष अधिनायकवादी शासन लाद्न खोज्दा दोस्रो जनआन्दोलनबाट देशमा राजनीतिक परिवर्तन भएपनि मेलमिलापको नीति परिवर्तन नभएको उनले बताए। पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले पनि त्यही मेलमिलाप नीतिकै आधारमा हातहतियार उठाएर युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउँदै देउवाले भने, ‘त्यही नीतिका आधारमा गिरिजाबाबुले सबैलाई मिलाएर संविधान सभाको निर्वाचन मार्फत नेपालमो गणतन्त्रको स्थापना गर्र्ने कार्य भएको हो।’ राजाले प्रजातन्त्रलाई स्वीकार नगरेर सधैँभरी लोकतन्त्रको खिलाफमा गएपछि राजाको अधिनायकवादी कदमविरुद्ध सधैँभरी लडिरहनु भन्दा प्रजातन्त्रको रक्षाका लागि राजाबाट मुक्ति पाउन गणतन्त्रमा गएको पनि उनले बताए। यसका बाबजूद पनि बीपीको मेलमिलाप नीतिको सान्दर्भिकता नसकिएको बताउँदै देउवाले त्यही मेलमिलापकै नीतिका आधारमा सबै दल, जाति, समुदाय क्षेत्रदेखि हिमाल, पहाड तराई सबैतिर मेलमिलाप होस् भनेरै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको दाबी समेत गरे। तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेको कदमलाई आफू र आफ्नो पार्टीले असंवैधानिक, अलोकतान्त्रिक कदमको संज्ञा दिँदै भत्र्सना गरेको उनले बताए। ‘यो अलोकतान्त्रिक र अप्रजातान्त्रिक कदमको विरुद्धमा पार्टीले देशभरी नै आवाज उठाइरहको छ र उठाइरहने छ,’ देउवाले भने। पार्टीभित्र र बाहिरका कतिपय व्यक्तिहरुले संसद विघटनको विरुद्ध अरु दलसँग सहकार्य गर्दै सडक आन्दोलन गर्न र संसद पुनस्र्थापनाका लागि अदालतलाई दबाब दिन तयार नभएको भनि गरिरहेकोे आलोचनाप्रति देउवाले आफ्नो स्पष्ट अडान दोहोर्याए। ‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने भएको हुनाले स्वतन्त्र न्यायापालिकामा पनि विश्वास गर्दछ। यसैले अदालतमा विचाराधिन मुद्दामा यसो गर वा उसो गर भनेर धम्क्याएर आन्दोलनको नाममा वा अरु केही नाममा अदालतलाई प्रभावित गर्ने कार्य गर्दैन। यसो गर्यौँ भने भोलि कुनै पनि सरकार वा अदालतले कसैको पक्षमा निर्णय आएन भने आन्दोलन हुने गलत नजिर प्रेसिडेन्स स्थापित हुन सक्छ भनेर नै सोच विचार गरेर यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै अदालतको निर्णय पर्खिएका छौँ,’ उनले भने। राजनीतिमा अलग अलग पार्टीको अलग अलग विचार हुने बताउँदै तर, यस्तो विषम अवस्थामा पनि प्रजातान्त्रिक, लोकतान्त्रिक तरिकाले अहिंसात्मक तरिकाले अगाडि बढ्नु पर्नेमा देउवाले जोड दिए। कम्युनिष्ट पार्टीको प्रजातन्त्रप्रतिको प्रतिबद्धतामा प्रश्न उठाउँदै देउवाले ‘प्रजातन्त्रमा अझै पनि खतरा कायमै छ। बहुदलीय प्रजातान्त्रिक शासन पद्धतीमा कम्युनिष्टहरु आएपनि अझै पनि उनीहरुको चाल राम्रो छैन। हामी लोकतन्त्रको रक्षार्थ चनाखो हुनु परेको छ।’ साथै उनले न्यायालयको स्वतन्त्रतालाई पनि कुनै पनि हालतमा बचाइ राख्नु पर्ने बताउँदै त्यसमाथिको हस्तक्षेप गर्ने वा गराउने कार्य गलत भएको बताए। कार्यक्रममा कांग्रेस नेता प्रदिप गिरिले अहिलेको परिस्थितिमा कांग्रेस र यसको नेतृत्वले बुद्धिमत्तापूर्ण र दूरगामी सोच विचार पुर्याएर आफूलाई अघि बढाउन र लोकतन्त्रको रक्षा गर्न सुझाव दिए।      
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update