हिमाल दैनिक
नेकपाभित्रको विभाजनको डढेलो प्रदेश २ संसदीय दलभित्र पनि सल्कियो
18077128_103072820260005_1191471708531295758_o
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्र्रीय तहबाट सुरु भएकोे विभाजनको डढेलो पूर्व र पश्चिम, मध्ये क्षेत्र हुँदै तराईमा पनि सल्किएको छ। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को कदम चाल्दै संघीय संसदको विघटन गरेसँगै दुई चिरामा विभाजित भएको नेकपामा विभाजनको असर प्रदेश तहमा समेत फैलिइसकेको छ। केन्द्रदेखि ६ वटा प्रदेश तहमा समेत अत्याधिक बहुमत ल्याएर सरकार बनाएको नेकपाका प्रदेश १, बागमती, सुदूरपश्चिम प्रदेशका सरकारविरुद्ध सुरु भएको अविश्वासको प्रस्ताव प्रतिपक्षमा रहेको प्रदेश २ मा पनि दर्ता भएको छ। अध्यक्ष ओलीसँग असन्तुष्ट बन्दै पार्टीको आधिकारिक धार आफ्नो नेतृत्वमा रहेको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ। आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिएको राससले जनाएको छ। प्रदेश २ मा रहेका नेकपाका ३२ जना सांसदमध्ये बहुमत सदस्य अर्थात १७ जना सांसदले मण्डल विरुद्ध हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिएका छन्। ओली पक्षका नेता मण्डलमात्र होइन, यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्धमा पनि अविश्वास प्रस्ताव दर्ता भएपछि राई र पौडेलले दाहाल पक्षका सदस्यहरुलाई स्पष्टिकरण सोध्दै र निलम्बन गर्दै आफूलाई बचाउने कार्यको थालनी गरिसकेका छन्।  
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update