प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विभाजित भएर पार्टीको वैधानिकता र आधिकारिकताको दाबी गरिरहेका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई सत्तोसराप गरेका छन्।
पार्टी विभाजित भएर अलग थलग कार्यक्रम गर्दै आएका नेकपाका नेताहरुबीच संगठनको पकड जमाउने होडमा शनिबार काठमाडौैंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल, नेपाल र झलनाथ खनाललाई चटके, चोर ढाडे विरालोदेखि वरमझियाको असली पेडा भनेजस्तै असली पार्टीको नेता भनिरहेको भन्दै कटाक्ष गरे।
करिब एक घण्टा भन्दा लामो समय बोलेका ओलीले आफ्नो सम्पूर्ण सामथ्र्य विरोधीको उछितो काढ्न अनगिन्ती उखान, टुक्काको प्रयो गरे। प्रस्तुत छ, ओलीले व्यक्त गरेको विचारको सम्पादित अंशः
पार्टीबाट बाहिरिएका नेताहरुको ध्यान जम्माजम्मी कुर्सीका लागि मात्रै छ। पद खानु थियो भने यता लाग्नु पथ्र्यो। सुन्तला खानु थियोे भने सुन्तलाबारी तिर नलागी अैसेलु घारीमा लाग्ने?
हाम्रो पार्टी आँधी तुफानका साथ अझ बलियो बनाउने छौँ। यसले हाम्रो राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई अझ सुदृढ बनाउने छ।
यो सन २०२१ को वर्ष नेपालको इतिहासमा एउटा उल्लेख्य टर्निङ प्वाइन्ट, ज्यादै महत्वपूर्ण घुम्तिका रुपमा नेपालको इतिहासमा अंकित हुने छ।
हाम्रा उद्देश्यहरु संकृण, पारिवारिक होइन। हामी छोरा, बुहारी भाइ भतिजाका लागि होइन देशका सन्तान र भविश्यका लागि लडिरहेका छौँ
कसको धन्दा कतातिर, कसको धन्दा खान तिर भनेजस्तै अचम्म लाग्छ। हामीले पार्टी एकता र एकीकरण त गर्यौँ, तीन महिनामा गर्न सकिने र पर्ने काम तीन वर्षमा पनि गर्न सकिएन। हिँजोका दिनमा पार्टीले यस्तो सभा, कमिटी गर्न पाएको थियो? एउटा कमिटी तीनवटा गुट, सधैँको झमेला हुँदा केही गर्न सकिएन।
जनतालाई सचेत बनाउनका लागि कार्यकर्ता परिचालन गर्नुको सट्टा अलमलमा काम गर्न नदिएर राखियो।
बलिदानको पृष्ठभूमि र संघर्षबाट आएका कार्यकर्तालाई संगठित गर्दै देश र जनतालाई सुसूचित गर्दै जानुपर्नेमा तीनवर्ष हलनचल गरेर राखियो। अहिले दुइटा नटबल्ट फेदा गाडी अघि बढ्यो। हामीले फेरेको पनि होइन, आफैँ फुक्लिएको थियो, गाडी अघि बढेको छ।
अहिले निर्वाचन आयोगबाट पत्र प्राप्त गरेँ। उहाँहरुले एउटा निवेदन हाल्नु भएको रहेछ। असली पार्टी हामी नै हौँ भन्नु भएको रहेछ। यो वरमझियाको बाजेको पेँडा पसल हो? पेरिस डाँडामा बसेर भन्दैमा पेडा असली हुन्छ? जसको घर, जमिन र गाडी हो उ निवेदन हाल्न जान्छ? जाँदैनौँ। यो विधिसम्मत, देशको कानून अनुसार पार्टी संचालन गरिरहेका छौँ। अब भेट्नो कुहिएर झरेका दुइटा फलहरुले रुखै मै हुँ भन्ने?
हामीले अहिले पनि आउनुहोस् भनि पुष्पकमल दाहाललाई अध्यक्ष र माधवकुमार नेपाल र झलनाथ खनाललाई हटाएका छैनौैँ।
अहिले पनि पेरिस डाँडामा भेला गरेर के के कार्यक्रम तय हुँदैछ। अलिअलि मानिस त शिशीमा औषधी बेच्नेको वरिपरि पनि भेला हुन्छन्। त्यो भन्दा बढी छैन। टाउको दुखेको, पेट दुखेको, गानो गएको आदी सबैको औषधी भनेजस्तै रत्नपार्कमा भेला गर्ने?
उहाँहरुको एजेण्डा नक्सा छापेको होइन। कार्की बैंकेटमा सपना देखेर खानपिन गरेपछि केपी ओलीलाई निकालिदिउँ भनेर निकालेछन् र निर्वाचन आयोगमा पनि पत्र पठाएछन्। निर्वाचन आयुक्त कति दिन हास्नु भयो थाहा छैन। जसको कटेरो उसैको पुच्छर बाहिर भने जस्तो।
किन प्रतिनिधि सभा विघटन भयो? प्रतिनिधि सभाले जति काम गर्न सक्थ्यो त्यो गर्न दिइएन, सरकारले जति गर्न सक्थ्यो त्यो गर्न दिइएन। धरहरा ओलीले होइन इन्जिनियरले भनिएछ। इन्जिनियरले होइन डिकर्मीले हो। नेतृत्व नभए डकर्मीले कसरी बनाउन सक्छ भन्ने हेरे हुन्छ रानीपोखरी।
मेरो इच्छा जस लिनका लागि होइन, नेपाली जनताको लागि काम हुनु पर्यो। यो एकवर्ष कोरोनाका कारण अलिकति धक्का दियो। तर, हामी फेरिपनि यसलाई नियन्त्रण गर्छौँ र हामी अगाडि बढ्छौँ।
अहिले कम्बोडियाले प्लेन चार्टर गरेर औषधी सहयोग गर्न आइपुगेको छ। हाम्रो अन्तराष्ट्रिय मित्रता यस्तो छ। हाम्रो चीन र भारतसँग सम्बन्ध अगाडि बढेर गइरहेको छ। उर्जा सचिवको टोली तीन दिन अघि भारत गएर धेरै अघि भएको सम्झौता भएअनुसार नभएको सारदा व्यारेजबाट चाँदनी दोधारामा पानी दिने व्यवस्था भएको छ।
अब हामी सुरुङ हेर्न विदेश जानु पर्दैन, थानकोट गए हुन्छ। अब टोखा, खहरे सुरुङ मार्ग बनाउँदैछौँ। अरुका पालामा तराई डुबानमा पर्यो हामीले वार्ता गरेर खुलायौँ।
सरकारले सिन्कोे भाँचेन भनि उफ्रिदै हिँड्ने साथीहरुलाई थाहा होला, यसबीचमा चारहजार, पौतालिस सय किलोमिटर सडक डबल लेनमा बनाएका छौँ। तराईमा केपी ओली मधेस विरोधी भन्नेहरुले हेरे हुन्छ तराईको वारामा केही महिनाभित्रै चक्रवातले उडाएको ८ सय घर दिइएको छ।
यसवर्ष हामीले २० हजार भन्दा बढी घर बनाएर दिएका छौँ। यो मान्छेले नेतृत्व गरिरहे सर्लक्कै बन्छ कि क्या हो भनि मन भतभती पोल्यो, केहीले छिर्के लगाउन, रोक्न खोजे रोकिएन, गाली गर्दै हिँड्ने गरे केही भएन।
उहाँहरुले सडकमा कस्तो नारा लगाउनु भयो? गोरु नाङगो देख्दा मलाई लाज लाग्दैन। उहाँहरुले आफैँले सामाजिक प्राणी हुनुका नाताले सामाजिक मर्यादाको ख्याल गरे हुन्थ्यो। उहाँहरुको नाराले देख्नेहरुलाई लाज लागिसक्यो। खैर देश अघि बढिरहेको छ अगाडि बढाइने छ।
प्रतिनिधि सभा विघटन गरेर नयाँ जनादेशका लागि किन जानु पर्यो? कतिपयले प्रयोजित रुपमा झुट्टा समाचार बनाएर राष्ट्रिय दैनिकले छापेछन् कि कसैसँग मिलेर पुनस्थापना भयो भने पनि मिलेर सरकार बनाउँछौँ भनेको छु भनेछ। पुनस्थापना हुन्छ भनेर कसले भन्यो? त्यो हुन सक्दैन। स्वच्छ र ताजा जनादेशका लागि सबै अघि बढिसकेका छन्।
प्रत्येक्षमा १६५ सिट आउँछ। म धेरै नभनौँ। धेरै भन्दा हच्किन सक्छन्। कमसेकम दुइटा अंक भएको सिट ल्याएर देखाउनुहोस्। तर, त्यस स्थितिमा उहाँहरु पुग्नुहुँन्न। छनक पाइसक्नु भयो। फर्किनु हुन्छ। फर्किन ठाउँ राखेका छौँ तर, फर्किएपछि फेरि उपद्रो गर्न पाइदैन। अनेकता र गुटबन्दी गर्न पाइदैन। व्यक्ति फर्किएपनि प्रवृति फर्किन दिइने छैन।
दलभित्रैबाट देशलाई अप्ठ्यारोमा पार्ने काम गरे। नेतालाई थाहै छैन, कहिले हस्ताक्षर लिएर राष्ट्रपतिकोमा कहिले कतै जाने काम गरे। सांसदहरुलाई सही गराउँदा पनि झुटा कुरा गरेर सही गराएका हुन्। उहाँहरुले हामी आधिकारिक भनिरहनु भएको छ, पखौँ न त वैशाख १७ र २७ गतेपछि थाहा भइहाल्छ नि।
यो देश केही मानिसका गलत प्रचारबाट गलत बाटोमा जान दिनु हुँदैन। मन मस्तिष्कमा देशलाई राखेर अगाडि जानु पर्छ। केही मित्रहरुले देशभित्र र पार्टीभित्र अनुशासनहिनता, अराजकताको पक्षमा बोल्ने काम गरे। पार्टी र सरकारको पक्षमा बोल्नु भएन। उहाँहरु प्रतिगमनकारी यात्राको तयारी गरेर त्यस दिशामा जान खोजेपछि हामीले स्टेरिङ सोझ्याएका हौँ।
उहाँहरुले दुई तिहाइ बहुमत फुटाएर सरकार भत्काएर जोरजाम गरेको पुतली सरकार बनाउन खोज्नु भएको थियो। विभिन्न तत्व मिलाएर हर्स ट्रेडिङ गर्ने कार्य गरी देशलाई अघि बढ्न नदिने काम गर्नु भएको थियो। हामीले जनताको इच्छा र आदेश अनुसार राष्ट्रिय मनोभावनालाई केन्द्रमा राखेर काम गर्ने सरकार चाहिएको छ।
कतिपयले संविधान संशोधनको चाहना पनि गरेका छन्। तर, सरकारले तीन वर्षदेखि संसदमा पेश भएका प्रस्ताव र समितिमा रहेका प्रस्ताव सदनमा अगाडि नबढाएर सरकारलाई असफल देखाउने काम भएको छ।
यसबाट देशलाई जोगाउन प्रतिनिधि सभाको विघटन गरी नयाँ निर्वाचनको घोषणा गरियो। कतिपयले पुनस्थापनाको कुप्रचार गरिरहेका छन्। झण्डै दुई तिहाई अर्थात ६४ प्रतिशत जनमतको सरकारले म सरकार चलाउन भनेपछि पुनस्थापना गरेर कहाँ पठाउने? घरवाला भन्दैछ कि छाने चुहियो, भत्काएर अर्को बनाउँछु भन्दा छिमेकीले पुरानै छाने चाहिन्छ भनेर हुन्छ कहीँ? पुरानै खरका टुक्रा खोज्न जाउ भन्ने कुरा हुने कुरा होइन। कुनै विकल्प छैन।
संविधानको धारा ७६ को उपधारा ७ मा स्पष्ट प्रधानमन्त्रीको सिफारिसमा नयाँ चुनावमा जाने भनेपछि जतिवटा पार्टी मिलाएपनि ३६ प्रतिशतले सरकार बन्ने ठाउँ नै छैन।
पहिले गठबन्धनको सरकार बनेको थियो। पहिले संविधानको धारा ७६ को उपधारा २ अनुसार बनेको सरकार पार्टी एकीकरण पश्चात उपधारा १ अनुसार बनेको यो सरकारले अब सरकार चलाउन सकिँदैन भनि बाँकी डेढ वर्षको अवधि काम गर्न नसक्नेगरी खेर फाल्न नचाहेर ताजा जनादेश खोजेको हो। त्यसकारण यो फर्किने अवस्था छैन। मुद्दा त लड्न पाइयो तर, यो प्रधानमन्त्रीको अधिकारको प्रयोग गरेर भएको हो। यही कुरा केही महिना अघि वेलायतका प्रधानमन्त्री वोरिस जोन्सनले २१ जना अटेरी सांसदलाई बर्खास्त गरी ताजा जनादेशमा गएर अहिले बहुमत ल्याएर सरकार चलाएका छन्। प्रधानमन्त्रीले संसदीय अभ्यास भएका देशमा यही हुन्छ।
साथीहरुले सुन्नु भएको होला, सूर्य चिन्ह र झण्डा हाम्रै हो। धनगढीमा पार्टीका कार्यकर्ताले दुःख गरी जम्मा गरेको ३० लाख एउटाले गएर झ्वाम पारेछ। यिनीहरुको ध्यान पैसामा छ। कसको ध्यान कहाँ कसको ध्यान कहाँ? हामी यतातिर धेरै जान चाहन्नौँ।
हिँजो मात्रै थाहा पाएँ, वरमझिएको बुढाको पेडा पसल जस्तै असली पेडा जस्तै असलीपार्टी हामी हौँ भन्ने गरेछन्।
एकपटक चार्ली च्याप्लिनले हाँस्य कलाकारको प्रतिस्पर्धामा चार्ली च्याप्लिन छनौटमा नपरेजस्तै हाम्रो अदालतले गल्ती गर्दैन। कुम हल्लाएको, जुँगाको कलर हेरे चिन्छ। निर्वाचन आयोगले गल्ती गर्दैन। उहाँहरुले बहुमत हाम्रो भन्नुहुन्छ। गफै त हो सम्धी भनेजस्तै? कुन महाधिवेशन, कुन अधिवेशनले भन्यो? कुनै एउटा क्षेत्र वा जिल्लामा बहुमत ल्याएर देखाउनुहोस् त?
रेसलिङ खेलमा कहिलेकाही बेल्ट खोसेर लगाउने तर, जब कोर्टमा गएपछि अर्काको मुक्काबाट रिङआउट भएजस्तै हुने। कसले दियो बहुमत, कहाँबाट आयो बहुमत? तपाईहरुले गल्ती गरेर पनि भोट हाल्नु हुन्छ? घरमा भने? खैर, म साथीहरुलाई एकदम ढुक्क हुन भन्छु, यो २१औँ शताब्दीको २१औँ वर्ष हो। यो वर्ष ऐतिहासिक रुपमा पनि ऐेतिहासिक वर्ष हुनेछ।
उहाँहरुले कहिले काँही कस्तो हुन्छ भने, एक चोर घरभित्र पसेछ र भाँडा बजेपछि घरभेटीले चोर आयो कि क्या हो भन्दा म्याउँ गरेछ। ए विरालो रहेछ भनेछ। फेरि एकछिनपछि फेरि भाँडा गल्र्याम्म भएपछि घरभेटीले टर्च बालेर हेर्दा विरालो होइन ढाडे रहेछ। अनि उसको हालत के भयो? यसपटक हामीले विरालो होइन ढाडेहरुलाई चुनावमा ठेगान लगाउनु पर्छ।
पार्टी, देश, आन्दोेलन ध्वस्त पार्ने के का लागि पदका लागि। एउटा बच्चाले एउटा गुडिया लिएर आयो, अर्कोले हेरेर कति राम्रो एकछिन हेर्न देउ न भन्यो। हेर्न दियो। एक छिन खेलौँ न भनेको दियो। खेलिसकेपछि मेरै हो भनेजस्तै कस्तो प्रचण्ड जस्तै? एकछिन एकता गरेर खेल्न दिएको सबै मेरै हो पो भन्छन्।
पछि लागेका कार्यकर्ताहरुमा दोष नभएको भन्दै उनीहरु सोझा छन् भन्दै चटके काम गर्नेले एकछिनमा रुमाललाई अण्डा, अण्डालाई रुमाल देखाएजस्तै रुमाल अण्डा होइन अण्डा रुमाल होइन।
देशलाई नै एकजुट गर्ने पार्टीमा दुई जना नअटाउने होइन। मैसँग अध्यक्ष लडेर केही नचाहिने तर दोेस्रो अध्यक्ष हातहातै चाहिने कठैबरा। यो हामी देशको अभिभारा बोक्दै छौँ कि के का लागि? विचार गरौँ, विचार नगरे लड्दा काँध हाल्न सकिँदैन।
५० वर्ष अघि टुक्राटुक्रा भएको कम्युनिष्ट आन्दोलनमा केही नहुँदा त हारेका थिएनौँ भने आज त हामीसँग मजबूद संगठन र सहि विचार बोकेको पार्टी छ भने हिम्मत हार्न पर्दैन। मुना मदनमा जस्तो मुनाले आँटे भनेजस्तै कार्यकर्ताले आटे म सही दिशमा हाँकेर अगाडि बढ्न सक्छौँ।
हिँजो हामीले खाली हातले सशस्त्र राजतन्त्रलाई ढालिदिएका थियौँ। गणतन्त्र र संघीयता हामीले ल्याएका हौँ। जात, जात, भाषा लढाएर रुवाण्डा बनाउन खोज्नेलाई परास्त गरेका हौँ। भोकै बसेर लढेर संविधान ल्यायौँ र अहिले हामीले हाम्रो भूभागको नक्सा ल्याएका छौँ अब भूभाग पनि फिर्ता ल्याउँछौँ।
मेरो अरु केही स्वार्थ छैन, मैले सुन्दर देश, सुन्दर पार्टी, सुन्दर र सभ्य समाज बनाउने अभियान लिएको छु। यसमा सबैको साथ चाहिएको छ।
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय