विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको स्वास्थ्य परिक्षण तथा उपचारका लागि भारत प्रस्थान गरेका छन्।
करिब तीन वर्षअघि पुत्र विगोगको पीडाबाट मर्माहत भएकी सीताको स्वास्थ्य स्थितिमा निरन्तर समस्या देखिएपछि दाहाल श्रीमतीलाई लिएर सोमबार बिहान भारतको मुम्बई गएका हुन्।
पत्नी सीताको उपचारका लागि दाहाल सोमबार नेपाल एयरलाइन्सको विमानबाट नयाँ दिल्ली हुँदै मुम्बई गएका हुन्।
काठमाडौंबाट मुम्बईका लागि सिधा उडान सेवा नभएकाले दिल्ली हुँदै उनी जान लागेको बताइएको छ। सीताको उपचारका लागि अध्यक्ष दाहालसँगै छोरी गंगा दाहाल पनि भारत गएकी छिन्।
एकातिर राष्ट्रिय राजनीतिलाई नै उथलपुथल पार्ने गरी सत्तारुढ नेकपामा भएको विभाजनको चपेटामा प्रधानमन्त्री तथा अर्को समूहका अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिकसँगै सांगठनिक र वैधानिक लडाइमा जुध्न बाध्य भएका दाहाल अर्कोतर्फ पारिवारिक समस्याले पिरोलिएको अवस्थामा छ। यसअघि आइतबारको स्थायी कमिटी बैठकमा दाहालले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी गराएका थिए।
सीताको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट मुम्बईमा हुने अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका छन्।
सीतालाई सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने सापकोटाको भनाई छ। सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छन्। गत बुधबार उनको स्वास्थ्यमा थप समस्या देखिएपछि मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।
यसअघि सीताको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय