निरंकुश पञ्चायत व्यवस्था विरुद्ध २०४६ सालको जनआन्दोलनको घोषणा गर्न सर्वोच्च कमाण्डर गणेशमान सिंहको निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा भारतीय नेताहरुलाई उपस्थित गराएर नेपालको लोकतान्त्रिक आन्दोलनमा समर्थन जनाउन समन्वयकारी भूमिका निर्वाह गरेका डीपी त्रिपाठीको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जली सभाको आयोजना गरियो।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानको आयोजनामा नेपाल र नेपाली जनताका मित्र लोकतान्त्रिक आन्दोलनका समर्थक डीपी त्रिपाठीप्रति आयोजित श्रद्धाञ्जली कार्यक्रमका वक्ताहरुले नेपालका हरेक कालखण्डमा भएका आन्दोलनमा भारत र भारतीय नेताहरुको प्रत्यक्ष सहयोग र समर्थन रहेको स्मरण गरे।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रान्ति जुनसुकै देशको भए पनि आफ्नै ठान्नुपर्छ भन्ने त्रिपाठीको दर्शन मानवताका भाबनाले प्रेरित भएको स्मरण गरे। नेपालको लोकतान्त्रिक आन्दोलनमा निशर्त सहयोग र समर्थन गरेका त्रिपाठी नेपाली जनताका असल मित्र भएको बताए।
बहुप्रतिभाशाली व्यक्तित्व त्रिपाठीको साहित्यमा पनि उत्तिकै रुची भएको उनले स्मरण गरे।
मञ्चमा सँगै रहेका राजनीतिक चिन्तक प्रदिप गिरितिर हेर्दै निधिले आफूलाई त्रिपाठीसँग गिरिले नै पहिलो पटक चिनजान गराएको बताए।
कांग्रेस उपसभापति निधिले नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग र समर्थन गरेका भारतीय नेताहरुको सरकारका तर्फबाट सम्मान गर्न नसकिएको पछुतो व्यक्त गरे।
कांग्रेस महामन्त्री शशांक कोइरालाले बनारसमा रहँदा त्रिपाठीसँग पहिलो पटक भेटघाट भएको स्मरण गरे।
नेपाली कांग्रेसका नेता एवं राजनीतिक चिन्तक प्रदिप गिरिले नेपाल र नेपाली जनताप्रति त्रिपाठीको
गहिरो सम्बन्ध रहेको उल्लेख गरे। भारत गएका बेला त्रिपाठीको निवास नै भेटघाटस्थल हुने गरेको स्मरण गर्दै गिरीले क्रान्तिको भूगोल हुदैन भन्ने त्रिपाठीको सिद्धान्त रहेको बताए।
भारतमा क्रान्ति गर्न नसकिए पनि नेपालमा त गरौं भन्ने त्रिपाठीको भित्री मनसाय रहेको उनको भनाई थियो।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले त्रिपाठीको जीवनी र उनले नेपालको लोकतान्त्रिक आन्दोलनका हरेक कालखण्डमा पुर्याएको योगदानको चर्चा गरेका थिए।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय