हिमाल दैनिक
कोराना भाइरसको खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने: स्वास्थ्यमन्त्री त्रिपाठी
hridesh-tripathi
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोराना भाइरसविरूद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिएका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेको बताए । छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने भन्दै उनले रूस, भारत र युएईका राजदूतहरुसँग आफूले खोप ल्याउने सम्बन्धमा कुरा गरेको बताए । खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने उनले प्रष्ट पारे । मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए । खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उनले बताए । भ्याक्सिनका लागि १६ हजार खोपकेन्द्र परिचालन गरिने र ५ हजार कर्मचारीको व्यवस्था समेत उनले बताए । भ्याक्सिन ल्याउन कानुनी रूपमा जटिलता निराकरण गरिएको र अर्थले मन्त्रालयले रकम सुनिश्चितता गरेको उनको भनाई छ । पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको एक जना सचिवको पद चाँडै पूर्ति गरिने बताए । यसका लागि प्रक्रिया अगाडि बढाइने र छिटै नियुक्त गर्न तयारी भइरहेको उनको भनाई छ ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update