हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध केन्द्रदेखि प्रदेशसम्मै सहमति र सहयात्रा गर्दै आन्दोलनमा उत्रन पुष्पकमल दाहाल र माधवकुमार नेपालले राखेको प्रस्तावलाई नेपाली कांग्रेसले अस्विकार गरेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्धपछि अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन भएको प्रतिनिधि सभाको पुनस्थापनाको माग गर्दै सडक आन्दोलनमा रहेको नेकपाकै अर्को पक्षका नेताद्वय दाहाल र नेपालले आफूसँगै सिंगो कांग्रेसलाई पनि आन्दोलनमा सहभागी गराउन निरन्तर प्रयास गरिरहेका छन्। बुधबार साँझ नेकपाको असन्तुष्ट पक्षका नेताद्वय दाहाल र नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका थिए। करिब ४५ मिनेटसम्म सभापति देउवासँग भएको कुराकानीका क्रममा दाहाल र नेपालले प्रधानमन्त्री ओलीको निरंकुशतावादी, संविधान र लोकतन्त्र विरोधी कदमका विरुद्धमा सँगै सडक आन्दोलनमा कांग्रेस पनि सहभागी हुन आग्रह गरेका थिए। देउवा निकट स्रोतका अनुसार, दाहाल र नेपालले कुराकानीका क्रममा ओलीको कदमविरुद्ध केन्द्रदेखि प्रदेशतहसम्म सँगै मिलेर आन्दोलन गर्दै त्यसपछिका दिनमा पनि सहकार्य गरी अगाडि बढ्ने प्रस्ताव राखेका थिए। नेपकाभित्रको आन्तरिक द्वन्द्धमा आफूलाई अलग राख्दै आएका देउवाले नेकपाको आन्तरिक विवादको टुंगो नलाग्दा र अदालतमा विचाराधिन मुद्दाको टुंगो नलाग्दासम्म आफ्नो पार्टी कुनै एउटा पक्षको नेकपासँग मिलेर जान नसक्ने अडान दोहोर्याएका थिए। देउवाले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा आफ्नो पार्टीले एक्लै विरोधका कार्यक्रम गर्दै जनतासमक्ष जाने र प्रतिनिधि सभा विघटनको विषयमा पुनस्थापना हुने वा नहुने विषयको फैसला संविधान बमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासले दिने आदेश स्वीकार गर्ने भन्दै पुनस्थापनाको माग राख्दै सडकमा जाने कुरामा असहमति जनाएका थिए। साथै देउवाले देशको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको र उक्त बैठकमा अन्य नेता तथा सदस्यहरुसँगको परामर्श र पार्टी निर्णय बमोजिम अघि बढ्ने जानकारी पनि दिएका थिए। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विषयमा कांग्रेस नेता रामचन्द्र पौडेल लगायतका केही नेताहरु उक्त कदमको विरुद्धमा सडक आन्दोलनमा जान र संसद पुनस्थापनाको पक्षमा उभिन जोड दिँदै आएका छन्। तर, सभापति देउवासँगै अधिकांश नेताहरु भने अहिलेको राजनीतिक र संवैधानिक अवस्था आउनुमा प्रधानमन्त्री ओली मात्रै दोषी नभएर सिंगो नेकपा र यसको नेतृत्वपंक्ति पनि उत्तिकै जिम्मेवार रहेको भन्दै संविधान, लोकतन्त्र र जनताको मौलिक हकको रक्षाका लागि नेकपाको कुनै पक्ष गम्भीर नभएको कुरा आम जनतासमक्ष लिएर जान र चुनावी तयारीमा लाग्न पर्ने पक्षमा उभिँदै आएका छन्। कांग्रेस सभापति देउवासहित बहुमत सदस्यहरु नेकपाको दाहाल र नेपाल पक्षसँग मिलेर आन्दोलनमा जान नहुने अडानमा रहेपछि दाहाल र नेपालले देउवालाई मनाउन पटक पटक भेट्ने प्रयास गर्दैआएका थिए। तर, देउवाले विगत एक महिनायता नेकपाको विभाजन नभएको र विघटनको विषय पनि अदालतमा विचाराधिन अवस्थामा रहेको भन्दै त्यस्तो अवस्थामा नेकपाको ओली वा दाहाल–नेपाल कुनै पक्षसँग भेट्न आवश्यक नभएको भन्दै आएका थिए। तर, पटक पटक फोन सम्पर्क गरी समय मागेपछि देउवाले बुधबार साँझ दाहाल र नेपाललाई आफ्नै निवासमा बोलाएका थिए। उक्त भेटवार्तामा दाहाल र नेपालका अतिरिक्त कांग्रेसका नेता रमेश लेखेकको पनि उपस्थिति रहेको थियो।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update