हिमाल दैनिक
नेकपाको कुनै खेमासँग कांग्रेस नजिकिन्न, न्यायालयमाथि दबाब दिन्नः देउवा
Deuba in Parbat
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन मुद्दाको विषयलाई लिएर न्यायालयमाथि अनावश्यक दबाब दिन नहुने बताएका छन्। पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवनको उद्घाटन गर्न बिहिबार पवर्त पुगेका सभापति देउवाले अदालतमा परेको मुद्दाको विषयमा न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हँुदैन भन्दै उनले भने, ‘अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुदैन।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिद्वारा प्रतिनिधि सभाको विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेको विषयमा सत्तारुढ नेकपाकै असन्तुष्ट पक्षका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपालको समर्थनमा रहेका नेतादेखि केही कानून व्यवसायीले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै सडक आन्दोलनबाट उक्त असंवैधानिक कदम खारेज गर्न र संसद पुस्थापनाको माग राख्दै सडक आन्दोलनमा उत्रन गरेको प्रस्तावप्रति देउवाको असहमति रहँदै आएको छ। उनले न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा कांग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट विचार व्यक्त गरे। गत निर्वाचनपूर्व नै तत्कालिन नेकपा एमाले र माओवादी गठबन्धनको लोकतन्त्र र संविधानप्रति कुनै भरोसा नभएको बताउँदै आएका सभापति देउवाले पर्वतमा आज ओलीको असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट भएको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध कांग्रेसले आन्दोलनको घोषणा गरेको बताए। नेकपाको दुबै पक्ष लोकतन्त्र, संविधान र संघीयताप्रति प्रतिबद्ध नरहेको बताउँदै आएका देउवाले नेकपाको आन्तरिक विवादका कारण ओलीले संसद भंग गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर चुनावको घोषणा गरेपनि सहजै तोकेकै मितिमा चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको पनि बताए। पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको भन्दै अब संविधान, लोकतन्त्र र जनअधिकारको रक्षार्थ ताजा जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको भन्दै कार्यकर्तालाई चुनवाी तयारीमा जुट्न आग्रह गरे। तीन वर्षसम्म ओली सरकारले गरेको अधिनायकवादी गतिविधिमा साथ दिँदै आएपनि पछिल्लो समय मात्रै उनीबाट टाढिएका नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाल आन्दोलनमा सँगै मिलेर अघि बढ्न प्रस्ताव लिएर बुधबार आफ्नो निवासमा आएको जानकारी दिए। सभापति देउवाले नेकपा २ भागमा विभाजित भएजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत दिए। उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका काँग्रेस कार्यकर्तालाई दुःख दिने गरेको भन्दै जनताको करबाट तलबभत्ता खाने राष्ट्रसेवकहरुले कुनै दलविशेषको पक्षपोषण गर्नु गलत भएको बताएका थिए। उनले पार्टीलाई बलियो बनाउँदै देश विकासमा लाग्नुपर्नेमा जोड दिए। नेपाली काँग्रेस नेता गोपालमान श्रेष्ठले शहिद तिवारीको योगदानबाट सिक्नुपर्ने उल्लेख गरे। केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई सशक्त बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । शहिद हरिदत्त तिवारीको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, कांग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए। ०६० साल माघ १ गते सशस्त्र माओवादी समूहले नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो। उनको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट हेलिकप्टरमा गएका देउवा खराब मौसमका कारण अपरान्ह गोरखामा अवतरण गरेर मौसमको सुधारभएपछि मात्रै पुनः पर्वत गएका थिए।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update