दोस्रो जनआन्दोलनका क्रममा आन्दोलनकारीले सडकमा राजतन्त्र अन्त्य र गणतन्त्रको पक्षमा लगाएका चर्का नाराहरुप्रति विमति जनाउँदै तत्कालिन नेकपा एमाले नेता एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा लागेको नाराबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्ने कुरा बलयगाढा चढेर अमेरिका पुगिन्छ भने जस्तै हो भनि पटक पटक बताएका थिए।
जसलाई उनका आलोचकहरुले उक्त भनाई दोहोर्याउँदै राजनीतिक परिवर्तनबाट आएको गणतन्त्र र संघीयताप्रति उनको प्रतिबद्धता नभएको भन्दै आक्षेप लगाउँदै आएका पनि थिए।
तर, जब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्ध विष्फोटनको स्थितिमा पुग्यो र अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकाएक पुस ५ गते प्रतिनिधि सभाको विघटन गर्दै मध्यावधिको घोषणा गरे त्यसपछि उनको उक्त कदमको विपक्षमा रहेका नेकपाकै असन्तुष्ट पक्षले लगायत उनका आलोचकहरुले पुनः त्यही ‘बयलगाढा चढेर अमेरिका’ भन्ने भनाइलाई सडकमा उछाल्दै आएका थिए।
तर, शुक्रबार ओलीबाट राजनीतिक रुपमा विभाजित भएको नेकपाको असन्तुष्ट पक्षले बयलगाढा चढेर अमेरिका भन्ने भनाई भन्दा एक कदम अगाडि बढेर अंग्रेजी साहित्यमा चर्चित कथन ( कार्ट विफोर दि हर्स) ‘घोडा अगाडी बग्गी’ राख्ने कार्य गरेका छन्।
ओलीविरुद्ध संविधान र लोकतान्त्रिक मूल्य, मान्यता विपरित संसद विघटन गरेको आरोप लगाउँदै उनलाई पुस ७ गते पार्टी अध्यक्षबाट हटाएको असन्तुष्ट पक्षका नेता पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले शुक्रबार बल्ल अनुशासनको कारबाहीअघि अपनाउनु पर्ने कानूनी र विधानसम्मत प्रक्रिया अपनाउन पुगेको छ।
करिब तीन साता अघि नै ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा समेत गराइसकेको दाहाल–नेपाल पक्षले आफ्नो प्रक्रियामा सुधार गर्दै शुक्रबार ओलीसँग स्पष्टिकरण सोध्ने निर्णय गरेर अर्को रमाइलो गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीमबहादुर रावलले जानकारी दिए।
ओलीले पार्टी अनुशासन विपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको बैठकको ठहर छ।
प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै प्रचण्ड–नेपाल पक्षले पुस ७ गते प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो।
दाहाल–नेपाल पक्षले पुस ७ गतेको निर्णयबारे निर्वाचन आयोगमा जानकारी दिएपनि आयोगले नेकपाको विधान बमोजिम कारबाही प्रक्रिया नभएको र अनुशासनको कारबाही गर्नु अघि स्पष्टिकरणको मौका नदिएको विषयमा प्रश्न उठेपछि उक्त समूहले आयोगमा यसअघि बुझाएको पत्र फिर्ता लिएर नयाँ प्रक्रिया सुरु गएको स्रोतले बतायो।
साथै बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताए।
बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ।
त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताए।
देशका अन्य भागमा यसअघि नै तय भएको बिरोध कार्यक्रमलाई शसक्त ढंगले अघि बढाउने निर्णयसँगै बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँचबुँदे प्रस्ताव पनि पारित गरेको छ।
प्रस्तावमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिइएको छ।
त्यस्तै भारतीय मिडीया जी न्युजलाई अन्तर्वार्ताका साथै सगरमाथाको भ्रमणको प्रवन्ध गराइनुका साथै सगरमाथाको नाम परिवर्तन गर्ने अभियाननै चलाउदा पनि सरकार मौन रहेको भन्दै बैठकले भत्र्सना गरेको रावलले बताए।
प्रकाशित मिति: बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय