नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक साता पर सरेको छ।
विगत एक महिनादेखि बिचमा आक्कलझुक्कल बस्दै र स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारका लागि पूर्वनिर्धारित बैठक माघ १३ गतेका लागि सरेको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए।
भोलिको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे पार्टी पदाधिकारीहरुबीच टुंगो नलागेको अवस्थामा प्रतिनिधि सभा विघटनको कदमविरुद्ध पार्टीले जारी राखेको चरणबद्ध विरोध कार्यक्रमको आड लिएर भोलिको बैठक सारिएको हो।
मुख्य सचिव पौडेलले पूर्वनिर्धारित विरोधको कार्यक्रममा सहभागी हुन अधिकांश सदस्यहरु जिल्लामा रहेको कारण ८ गतेको विरोध कार्यक्रम पश्चात १३ गते बस्ने गरी बैठक सारिएको बताए।
कांग्रेसले एकातिर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक द्वन्द्धबाट उम्किन प्रतिनिधि सभा विघटन गरेर संविधान, लोकतन्त्र र जनभावनामाथि प्रहार गरेको भन्दै त्यसको विरोधमा उत्रिनु परेको छ भने अर्कोतर्फ पार्टी विधान र संविधानको व्यवस्था अनुसार पार्टीको १४औं महाधिवेशनको अन्यौलतालाई चिर्दै अधिवेशनको तयारी गर्न पनि केन्द्रीय कार्यसमिति बैठक जरुरी छ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय