हिमाल दैनिक
बृहस्पती अन्धो रहेकै बेला प्रम ओलीद्वारा पशुपतिमा विशेष पूजा आराधना!
kp-oli
जीवनभर माक्र्सवादी सिद्धान्त र द्वन्द्धात्मक भौतिकवादको कट्टर अनुयायी बन्दै देशको कार्यकारी प्रमुख बन्न सफल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय एकाएक कम्युनिष्ट सिद्धान्त विपरित धार्मिक क्रियाकलापमा सक्रिय हुन थालेका छन्। केही समय अघि छिमेकी मित्रराष्ट्र भारतसँग सिँगौरी खेल्दै त्रेता युगका भगवान भनेर हिन्दुहरुले मान्दै आएका रामको जन्मभूमि भारतमा नभई नेपालमै भएको भन्दै चर्चाको केन्द्रमा पुगेका ओलीले सोमबार फेरि अर्को रमाइलो गरेका छन्। प्रतिनिधि सभा विघटन गरेर देशलाई संवैधानिक र राजनीतिक विवादमा धकेलेका प्रधानमन्त्री आलीले सोमबार बिहान एकाएक हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको संङ्कल्प गर्दै विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरे। आफ्नी धर्मपन्ती राधिका शाक्यसहित बिहान ८ बजे पशुपति मन्दिरमा पुगेर प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा गर्दै विशेष पूजा गरेका थिए। उक्त अवसरमा उनले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा मन्दिरका भट्टहरुसँग पशुपति क्षेत्रको विकासबारे जानकारी लिनुका साथै उक्त स्थलको विकासमा काम गर्न निर्देशन पनि दिए। यसरी प्रधानमन्त्री ओलीले विश्व शान्ति र राष्ट्र कल्याणको कामना गर्दै सोमबार गरेको विशेष पूजा आराधना र दीप प्रज्ज्वलनको मूहूर्त भने वैद्धिक परम्परा र मान्यता विपरित पर्न गएको छ। सनातन हिन्दु परम्परा र ज्योतिष विज्ञानका आधारमा बृहस्पती अन्धो रहेको अवसरमा गरिएको कुनै पनि धार्मिक पूजा, आराधनाको अर्थ नहुने ज्योतिषविदहरुको भनाई छ। दक्षिण एशियाली ज्योतिष महासंघका पूर्व अध्यक्ष माधवप्रसाद पाण्डेय अनुसार, माघ ४ गतेदेखि फागुन २ गतेसम्मको अवधिमा बृहस्पती अन्धो रहेको छ भने माघको ३० गतेदेखि चैतभरी शुक्र अस्ताएको हुन्छ। यो अवधिमा दैनिक पूजापाठ, नियमित कर्मसँगै तत्काल नगरी नहुने धार्मिक कर्महरु जस्तैः न्वारन, श्रृाद्ध, काजक्रिया जस्ता कार्य गर्न मिलेपनि विशेष पूजा, अनुष्ठान गर्न नहुने र गरेमा त्यसको फल प्राप्ति नहुने धार्मिक मान्यता र विश्वास रहेको पाण्डेयले बताए। ‘अहिलेको सरकार र यसको नेतृत्वले औँसी, मलमास, सोेह्रश्राद्ध जस्ता समयमा उल्टो काम गर्छ भन्ने सुनिएको थियो, आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेर प्रमाणित गरिदियो,’ ज्योतिषविद पाण्डेयले भने। साथै उनले यदि सरकार र यसको नेतृत्वलाई विश्व शान्ति वा राष्ट्र कल्याणको कामना गरी कुनै विशेष पूजा, आराधना गर्नु नै थियो भने बृहस्पती अस्ताउनु अघि अर्थात माघ ४ गते अगाडि अथवा वैशाखमा शुक्र उदाएपछि सकिने बताए। ‘तर, त्यो नगरी विशेष कामना राखेर बृहस्पती अन्धो भएको समयमा पूजा, आराधना गरिनु भनेको कुनै व्यक्ति मस्तनिन्द्रामा रहेको बेला उसको मान, सम्मानका लागि गरिने सम्मान जस्तै हो। किन भने, बृहस्पती गृहको माध्यमबाट मात्रै पूजा, आराधनाको अपेक्षाकृत फल प्राप्त हुन्छ। त्यो ग्रह नै अस्त भएको बेलामा गरेको कर्मले फल दिन सक्दैन। जसरी निधाएकोे बेला कुनै व्यक्तिको मान, सम्मान गर्दा उसलाई त्यसको कुनै अत्तोपत्तो नै हुन्दैन,’ उनले भने।  
प्रकाशित मिति: आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update