प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप निःशुल्क लगाइसक्ने सरकारको योजना रहेकोे दाबी गरे।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार आयोजित भिडियो कन्फरेन्समार्फत देशभरी कोरोना विरुद्धको खोप अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारको लक्ष्यसहितको योजना सार्वजनिक गर्दैगर्दा अरु त परै जाओस् बालुवाटारमै उपस्थित उनका सहयोगी, समर्थक र सरकारी कर्मचारीले समेत पत्याउन सकेनन्।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा आफूले विगतमा गरेको भविश्यवाणी अनुरुप नै कोरोना महामारीको प्रकोप दशैं/तिहारको समयमा अत्याधिक रुपमा बृद्धि भएर अहिले विस्तारै नियन्त्रणको स्थितिमा आइपुगेको भन्दै अब देशमा खोप आइसकेको जानकारी दिए।
यसरी बोल्ने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले अगाडि पनि भनेका थियौँ कि, यो दशैं/तिहारताका अत्याधिक फैलिने छ। त्यसपछि मंसिरबाट विस्तारै यो ओरालो लाग्ने छ र लगभग फागुनतिर पुग्दा यसलाई हामीले धेरै कन्ट्रोलको स्थितिमा ल्याइसकेका हुनेछौँ भन्ने हाम्रो अनुमान थियो।’
त्यसपछि थप्दै ओलीले भने, ‘त्यो अनुमान अनुसार नै अब त हामीलाई त्यो अनुमानलाई साकार पार्नका लागि, त्यसलाई यथार्थमा परिणत गर्नका लागि, हामीसँग अब खोप नै आइसकेको छ। र हामी ठान्छौँ करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौँ।’
अरु समयमा भाषण गर्दा बिचबिचमा तालीको गढगढाहटले उत्साहित हुने बानी परेका प्रधानमन्त्री ओलीले आजको सम्बोधनका क्रममा पनि त्यही अपेक्षा गर्दै बिचमा बोल्दा रोकिएका थिए। तर, बालुवाटारको हलमा उपस्थित उनका सहयोगी र समर्थकसँगै सरकारी कर्मचारीले ताली नबजाएपछि दायाँ/वायाँ हेर्दै उनले भने, ‘मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो लाग्दछ।’
यसरी बोल्दै गर्दा दुई/तीन जनाले भने तालि बजाएको सुनियो।
प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई खोप लगाइसक्ने भनेपनि स्वास्थ्य मन्त्रालयले तय गरेको चरणबद्ध कार्यक्रमलाई हेर्ने हो र त्यसै मुताविक कार्यान्वयनमा जाने हो भने तीन महिना त के एक वर्षमा पनि सबै नेपालीले खोप लगाउन पाउने अवस्था रहँदैन।
स्वास्थ्य मन्त्रालयका अनुसार, पहिलो चरणको अभियान १० दिनमा सकिने छ। जसमा करिब ४ लाख ३० हजार जनालाई खोप लगाइसक्ने योजना मन्त्रालयले बनाएको छ।
अर्थात, मन्त्रालयको कार्ययोजना अनुसार, प्रतिदिन ४३ हजार जनालाई खोप लगाएको अवस्थामा तीन महिना अर्थात ९० दिनभित्र जम्मा ३८ हजारको हाराहारीलाई मात्रै सम्भव हुनेछ।
उमेरका हिसाबले १८ वर्ष कमका बालबालिका, एलर्जी र गर्भवती भएका महिलाहरुको संख्या कटाएर बाँकी जनसंख्यालाई खोप लगाउँदाको अवस्था होइन, करिब आधा जनसंख्यालाई मात्रै प्रतिदिन ४३ हजारको दरले खोप लगाउने अभियान चलायो भने पनि करिब करिब १ वर्ष अर्थात ३ सय ४८ दिन लाग्न सक्छ।
तर, जनतामाझ सधैँजसो हावादारी कुरा गर्दै आएका प्रधानमन्त्री ओलीले तीन महिनाभित्रै सबै नेपालीलाई कारोनाको खोप लगाइसक्ने भनि दिएको अभिव्यक्तिले लाग्दछ, कतै अब प्रधानमन्त्री ओली वास्तविक र साँचो कुरा बोल्नै बिर्सिएका त होइनन्?
गत वर्ष चीनको वुहानबाट सुरु भएर विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पहिलो पटक ०७६ माघ ९ गते चीनबाट उद्दार गरी ल्याएका एक विद्यार्थीमा देखिएको थियो। जसको अहिले संख्या बढेर २ लाख नाघिसकेको छ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय