देशको पछिल्लो राजनीतिक घटनाक्रमबारेमा तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीको आधिकारिक धारणा तय गर्नेबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच टेलिफोन वार्ता भएको छ।
गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका नेता पौडेलले बिहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको अवस्था लगायतका गम्भीर विषयमा पार्टीको धारणा तय गर्न तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेका हुन्।
सभापति देउवाका निजी सचिव भानु देउवाका अनुसार, आज नेता पौडेलले सभापतिसँग टेलिफोन वार्ता गर्दै पार्टी बैठक डाक्ने विषयमा कुराकानी गरेका थिए।
उक्त वार्ताका क्रममा सभापति देउवाले नेता पौडेललाई तत्काल राजधानी आउन र बसेर बैठकको तिथि, मितिसँगै बैठकमा प्रस्तुत हुने विषयवस्तु तय गरी अघि बढ्न आग्रह गरेको भानु देउवाले बताए।
देउवासँगको कुराकानी लगत्तै नेता पौडेलले आफ्नो ट्वीटरमार्फत भनेका छन्, ‘देशम%B एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्। संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसेको पछिल्लो कडी हो। यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ। मैले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु।’
https://twitter.com/NcPaudel/status/1357234271136735232
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक द्वन्द्धका कारण पुस ५ गते प्रतिनिधि सभाको विघटन गर्दै मंसिर ३० गते जारी गरेको संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश बमोजिम राज्यका साढे तीन दर्जन संवैधानिक निकायमा पदाधिकारीको नियुक्तिको सिफारिस गरेका थिए।
संवैधानिक परिषदमा विपक्षी दलको नेताका रुपमा सदस्य रहेका सभापति देउवाले ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी गरेकोमा आपत्ति जनाउँदै मंसिर ३० गतेको साँझको बैठकमा अनुपस्थित रहेका थिए। तर, त्यसका बाबजूद ओलीले नयाँ अध्यादेशको आधारमा पुस ५ गते विपक्षी दलको नेता र सभामुख अग्निप्रसाद सापकोटा समेत अनुपस्थित रहेको बैठकबाट विभिन्न निकायमा एकलौटी पदाधिकारी नियुक्तिको सिफारिस समेत गरेका थिए।
ओली सरकारको उक्त कदमलाई सभापति देउवाले पुस ७ गतेको केन्द्रीय कार्यसमिति बैठकमार्फत स्वेच्छाचारी र असंवैधानिक कदमको संज्ञा दिँदै त्यसको विरोध पनि गर्ने निर्णय गराएका थिए।
यसरी सिफारिसमा परेका व्यक्तिहरुको संविधान बमोजिम संसदीय सुनुवाई हुनु पर्नेमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा संघीय संसदको संयुक्त बैठक संचालन नियमावलीको आधारमा बुधबार ३२ जना पदाधिकारीलाई नियुक्ति तथा पद तथा गोपनीयताको सपथ दिलाएका थिए।
ओलीको उक्त कदमबाट थप आक्रोसित बनेको नेकपाका असन्तुष्ट पक्षका नेताद्वय पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले बिहिबार देशव्यापी आम हडतालको घोषणा गरेका थिए।
ओलीले संवैधानिक परिषदमा गरेको सिफारिस बमोजिम प्रस्तावित व्यक्तिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले नियुक्ति र पद तथा गोपनीयताको सपथ दिलाएपछि नेता पौडेलले त्यसको घोर विरोध गरेका थिए।
प्रकाशित मिति: बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय