हिमाल दैनिक
ओलीको कुन बोलि पत्याउनेः इतिहासमै कसैले गर्न नसकेको काम गरेँ, विरोधीले कामै गर्न नदिएपछि चुनाव रोजेँ
kp-oli-aamsabha
राजनीतिक रुपमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूलाई केही विकास र जनविरोधीले काम गर्न नदिएको कारण ताजा जनादेशका लागि चुनावमा जानु परेको बताए। पार्टीले शुक्रबार नारायणहिटी राजदरबार अगाडिको सडकमा आयोजित बृहद सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफैँले बोलेका अभिव्यक्तिमा परस्पर विरोधाभासपूर्ण कुरा गरे। एकातर्फ संसदमा अत्याधिक बहुमतका साथ सरकार बनाउँदा पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षले कामै गर्न नदिएर व्यवधान श्रजना गरेको आरोप लगाए भने आफ्नो सरकारले तीनवर्षमा इतिहासमै कुनै सरकारले गर्न गराउन नसकेको काम गरेको दाबी गरे। प्रस्तुत छ, ओलीले व्यक्त गरेको अभिव्यक्तिको अंशः आज हामीलाई काठमाडौंमा आमसभा गर्न स्थान छान्न सानो भएपछि सबैभन्दा ठूलो स्थान दरबारमार्ग छानेका छौँ र अरुलाई जहाँ भएपनि ठूलै हुन्छ। ठूलो ठाउँ छान्दा पनि मानिस अटेका छैनन्। अझैपनि मूल पार्टी कुन हो भन्नेलाई कठ%0%4A4ा भन्नु बाहेक केही छैन। मूल पार्टी यही हो। कम्युनिष्ट पार्टीको मात्र होइन देशकै मूल पार्टी हो। देश बनाउने, देशको सार्वभौमसत्ता, स्वाधिनताको रक्षा र भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी हो। लोकतन्त्रका लागि सात दशकको बलिदान दिएर आएको पार्टी हो। इतिहास र वर्तमानको हिसाबले पनि संमृद्ध नेपाल, सुखी नेपाली बनाउने योजना लिएर हिँडेको पार्टीको बारेमा अझैपनि बताइरहनु पर्छ? आजबाट कुन पार्टी सक्कली कुन नक्कली भन्ने फैसला भयो। तपाइहरुलाई उपस्थित हुन नदिनका लागि हिँजो तथाकथित नेपाल बन्द गरियो। गरिव, सर्वहारा, श्रमजिवीका लागि काम गर्ने भन्नेहरुले बुढी आमाले बाटामा बेच्न राखेको तरकारी फ्याकियो। गरिव ट्याक्सीवालाको ट्याक्सी र डाइभर जलाउन खोज्ने सर्वहारा पार्टी? अब शाकाहारी आन्दोलनले हुँदैन भनेको उहाँले चिकनचिल्ली खान्छु भनेको हो? उहाँले नरभक्षी आन्दोलन गर्ने भनेको हो। अब नरभक्षी आन्दोलनका दिन गए अब कसैले यो आन्दोलन चलाउँछु भन्ने नसोचे हुन्छ। हिँजोको हडतालका नाममा भएका गरिव, किसानको नोक्सानीको क्षतिपूर्ति सरकारले हेर्छ, व्यहोर्छ। ट्याक्सीको क्षतिपूर्ति पनि भए इन्सोरेन्सले र नभए हामी क्षतिपूर्ति दिन्छौँ। गरिबका लागि हेर्ने सरकार छ, ढुक्क हुनुहोस्। तपाइहरुलाई आउन नदिन हिँजो बाटोमा खाल्टा खनिए र बाटामा बम राखेर विप्लवको नाम राखेर आफूले गरेको कामको जिम्मा लिन नसक्ने अनि क्रान्तिकारीताको ठूला कुरा गर्ने? उहाँहरुको प्रयासले पनि जनताको भेललाई कसैले रोक्न सकेन। इतिहासकै सबैभन्दा ठूलो जनसभा आज काठमाडौंमा पहिलो पल्ट भएको छ। पत्रकारलाई आज सलाम भन्न चाहन्छु कि भ्रम चिरेर दृढताका साथ उपस्थित भएकोमा सलाम भन्न चाहन्छु। हामी संमृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय अकांक्षालाई सफल बनाउन विभिन्न विकास, निर्माणका काम अघि बढाइरहेका छौँ। आजका मितिसम्म लगभग ६ हजार किलोमिटर डब्बल र फोर लेनको सडक कालोपत्रे गरेका छौँ, ४ सय पुल, झोलुंगेपुल निर्माण गरेका छौँ। विभिन्न सवस्टेसन र ट्रान्समिसन निर्माण र पूर्वाधार निर्माणमा काम गरेका छौँ। मानव अधिकार र समाज सुधारको क्षेत्रमा हामीले सडक बालबालबालिकालाई अपमानपूर्ण र खाते जीवनबाट मुक्त गरेर सरकारले अभिभावकत्व लिएका छौँ। सडकमा मानिस भड्कीएर हिड्न पर्ने अवस्था छैन। कोही पनि नागरिक बेसाहारा छैन, सरकार छ। नेपालमा कोही भोकै पर्दैन र भोकै मर्दैन। कोही कोही पूर्व प्रधानमन्त्री त अरुले पकाएको भात डाडुले बाढ्दै फेसबुकमा हाल्ने तमासा र नाटक गर्न लागे। हामीलाई त्यो नाटक गर्नु छैन। हामीले देशमा सुशासन, संमृद्धि र विकासको लहर ल्याउने हो। हामीले भूपरिव्यस्ठित देशलाई भूजडित देश बनाउन उत्तरमा नाका खोल्ने र दक्षिणमा नाका खोल्ने र बन्दरगाहा बनायौँ। अब पंचेश्वर बन्नेवाला छ भने चाँदनी दोधारामा १० क्यूमेक्स नहरको सिंचाई गराउँदैछौँ। तराइको डुबान भारतसँग कुरा गरेर समस्या समाधान गर्यौँ। विसौँ वर्षदेखि कुरामात्रै हुँदै आएको हुलाकी राजमार्ग आफैले बनाउने भनि अहिले १० अर्ब बजेट छुट्याएर लगभग पूरा गर्ने अवस्थामा पुगेको छ। पूर्वपश्चिम राजमार्ग निर्माणको काम पूरा हुँदैछ। रेल आइसकेको छ अबको केही दिनभित्र संचालन हुने तथा रेलमार्गहरु निर्माण हुँदैछ। डिपिआर अन्तिम सम्झौता भारतसँग भइसकेको छ अब काम सुरु हुन्छ। उत्तरतर्फ पनि सुरुङमार्ग निर्माण गरी एक घण्टाभित्र केरुङ पुग्ने अवस्थामा आएका छौँ। थानकोट नौविसेबाट सुरुङ मार्ग खन्न सुरु भएको छ। विकास निर्माणको कार्यमा चौतर्फी रुपमा अघि बढेर कृषिको आधुनिकीकरण गरी अब हाम्रा नेपाली युवाहरु विदेश जान नपरोस भनि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम सुरु गरेका छौँ। हरेक पालिकामा औद्योगिक ग्राम स्थापना गरी उद्योग अघि बढ्दैछ। कोभिड–१९ को कारण उद्योग, व्यापार, पर्यटन क्षेत्रलाई प्रतिकूलतामा पुर्यायो। तर पनि जनताको जीवन रक्षा पहिलो विषय हो भनि काम गरेर मृत्युदर कम गरिसकेका मात्र होइन अब त नियन्त्रणको अवस्थामा आएको छ। अहिले खोप पनि ल्याएर अग्रपंक्तिमा बस्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई लगाउन थालिसकेका छौँ। हामी विकट परिस्थितिलाई पारगरी अब सहजस्थितिबाट अगाडि बढेका छौँ। जेष्ठ नागरिकको भत्ता बढाएका छौँ भने ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याएका छौँ। पहिले गरेका कामको पारिश्रमिक अहिलेको काम ज्याला दिने व्यवस्था गर्दैछौँ। हिँजो द्वन्द्ध थियो, त्यसले सबै पक्षलाई दुःख दिएको थियो। हिँजो जनवाद र समाजवाद आउने सपना देखाएर लडाइयो अहिले दुःख पाइरहेका छन् भने सुरक्षाकर्मीले पनि जनताका लागि लड्दा ज्यान गयो। विभिन्न क्षेत्रका मानिस मारिए। जोसुकै भएपनि उनीहरुको हेरचाह गर्न तथ्यांक संकलन गरी उचित प्रबन्ध गर्ने छ। अलमलमा परेकाहरुलाई अब अलमलमा नपरेकाले सम्झाएर यो देश निर्माणको अभियानमा सहभागी गरौँ। हामीले भ्रष्टाचारलाई निर्मूल पार्ने अभियानलाई असफल पार्न र बदनाम गर्न चरित्र हत्या गर्ने गलत सूचना दिएर अलमल पार्ने काम भएको छ। जतिबेला उत्तरतिरको बाटो पारबहन सम्झौता गरे त्यतिबेला पहिलो पल्ट मलाई सरकारबाट हटाइयो। अहिले जब मैले नक्सा छापियो र संविधान संशोधन गरियो त्यसपछि मलाई हटाउने राष्ट्रवादको हाउभाउ सुरु भयो। सरकारलाई काम गर्न दिइएन। तीनवर्ष सम्म आयोगहरु बन्न सकेको थिएन, दुई÷चार जना मान्छे पार्ट बाहिर गएपछि हामीले विभिन्न आयोगहरु बनाएका छौँ। अहिले आयोग बनेकोमा कत्रो पिर? आयोग बनेको भालिपल्टै नेपाल बन्द। दलितका समस्या, जनजाति, मधेसी, पीछडिएको क्षेत्रका आयोग बनाउँदा उनीहरुको लागि काम गर्न नदिने तर, उनैको नाममा राजनीति गर्ने कार्य भयो। यो सरकार पाँच वर्षका लागि बनेको थियो, त्यसले काम गर्न नदिएर जसरी पनि ओलीलाई हटाउन र देशलाई भड्खालोमा हाल्दै आफ्नो स्वार्थ, अंहकारका लागि काम गरिरहनु भएको छ। संसदलाई काम गर्न नदिएर पंगु बनाउने र पहिलेकै जस्तो किनबेच, समिकरण, अस्थायित्व र अस्थिरताका लागि गतिविधि गरेपछि मैले ताजा जनादेशका लागि जानु परेको हो। म प्रश्न गर्न चाहुन्छः अस्थिरताका लागि जाने कि जनताकाबिचमा? अस्थिरता होइन, चुनावमा जाउँ। सबै भनौँ, अस्थिरता होइन, चुनावमा जाउँ, अस्थिरता होइन, चुनाव चाहियो। जनता के भन्छ? चुनाव। अब सबैले सुने होला। उहाँहरुले जस्तो हामी धम्की होइन, अनुरोध र विनम्रताका साथ भन्छौँ। उहाँहरुले अदालत, निर्वाचन आयोगलाई धम्की दिनुभयो। म भन्छु, देशका निकायहरु स्वतन्त्र छन्। विवेकपूर्ण ढंगले काम गर्छन। अब देश चुनाव तर्फ गयो, गयो। अब चुनावले फैसला गर्छ। कसको सरकार बन्छ। म भन्न चाहन्छु, चुनावले नै सबै कुराको फैसला गर्छ। निर्वाचन अयोगमा गएर निर्वाचनको तयारी नगर भन्नेहरुले निर्वाचनमा गयो भने देश संकटमा पर्छ रे? के निर्वाचन र जनताको फैसलाबाट देश संकटमा पर्छ कि केही मानिसले कुनामा बसेर कसैका लागि काम गर्दा देश संकटमा पर्छ। जनताको चेतनास्तर यति माथि उठेको छ कि कसैले चाहँदैमा लोकतन्त्र मासिँदैन। कसैले पनि लोकतन्त्रलाई केही गर्छु भनेर नचिताए हुन्छ। लोकतन्त्र खतरामा पर्नै सक्दैन। कसैले प्रतिगमन नसोचे हुन्छ। अब देश अघि बढ्यो बढ्यो। अहिले देशव्यापी रुपमा एउटा बहस भइरहेको छ। यो बलजफती निकालिएको छ। संसद विघटन संविधान अनुरुप छ कि छैन भनेर। सर्वसाधारण जनताले बुझेको कुरा हो कि यो विवाद संसद विघटन, चुनावबाट अस्थिरताको कुरामा संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्थामा संसद विघटन हुन्छ। बेलायतमा संसद विघटनको कुरा संविधानमा लेखेकैै छैन तर, त्यहाँ भर्खरै चुनाव भएको छ। हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिनेलाई जवाफ दिन पनि जनताको ताजा जनादेशबाट खोज्नु पर्दछ। नेपाली दाजुभाई दिदीबहिनीहरुले नाटकबाजको छलछाममा परेर देशलाई गलत बाटोमा जान दिनु हुदैन। देशको भविश्य तपाइहरुको निम्ति हो। अहिलेको सरकारले जुन सबै जनताका लागि काम गरेको थियो, इतिहासमा कुनै सरकारले गरेको थियो? कोभिडले दुःख दिएको स्थितिले पर्यटन र उद्योग पछाडि परे अब हामी अगाडि बढाउँछौँ। कोभिड हाम्रो गल्तीले होइन, सजगताले गर्दा नियन्त्रणमा आएको छ। अब हामी छिट्टै विद्युतको क्षेत्रमा प्रगती गरेर लोडसेडिङ अन्त्य गरेका छौँ। आज बिहानसम्म पनि केहीले भन्दै थिए, ओलीले राजतन्त्र फर्काउँदैछ। जुन केपी ओलीले आधा दशक बढी राजतन्त्र विरुद्ध लडेर गणतन्त्र ल्याएका छौँ, त्यो गणतन्त्र अन्त्यको कुरा कसैले नसोचे हुन्छ। गणतन्त्रले कसैको विगार गरेको छैन। स्थानीय तहले कोभिड विरुद्धको लडाइबाट देखाएको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले आफ्नो ज्यान जोखिममा राखेर जनताका लागि गरेकोमा सलाम भन्न चाहन्छु। शाकाहारी आन्दोलन छाडेर हिंसात्मक आन्दोलनको कुरा गरी भड्काउन खोज्नेको बाबजूद शान्तिसुरक्षामा गरेको कामप्रति सलाम भन्न चाहन्छु। जनताका लागि गरेको कामका लागि शान्ति सुरक्षाका लागि धन्यवाद। कसैको चाटुकारिता र अलमलमा नपरी पार्टीको अभियानमा देखाएको सक्रियता र विश्वासका लागि सलाम भन्न चाहन्छु। आजको यो कार्यक्रमले अवश्यपनि ट्राफिकमा समस्या आएको होला, सडक आवागमनमा समस्या आएपनि हाम्रो बाध्यतालाई बुझिदिएकोमा धन्यवाद भन्न चाहन्छु। हामी सडकमा नआउँदा दुई चार हजार मानिस लिएर हामीलाई लल्कार्ने काम भएको कारण आज सडकमा आउन परेको हो। आज सडकमा आइदिएकोमा सबैलाई धन्यवाद भन्न चाहन्छु। यो कार्यक्रमले व्यवसायी, व्यापारी, सर्वसाधारणले कठिनाई झेल्नु परेकोमा दुःख व्यक्त गर्दै यो कार्यक्रम बाध्यताले आएको हो। आजको यो सभा एउटा कास्टिङ मात्रै हो। हामीले आम सभा गर्दा काठमाडौंका सबै सडक र चोकमा साउण्ड सिस्टम राखेर गर्नु पर्नेछ। अर्को कास्टिङ १ गते बुटवल र ८ गते विराटनगरमा गर्दैछौँ। हाम्रो आलोचना गर्ने मित्रहरुले मन थामेर हेर्दै गर्नु होला। हाम्रो गति कसरी अघि बढ्छ। हामी वीरपूर्खा, विद्वानका सन्तती हौँ। अब हामी दैलेखबाट पेट्रोल, नवलपरासीबाट खनिज, पर्वतबाट फलाम र स्टिल खानी बनाएर, जाजरकोटमा तामाखानी, वैतडीमा फसफोरस अनुसन्धान गरी रासायनिक मलको उद्योग खोल्दैछौँ। एकताबद्ध भएर देश विकासमा अघि बढ्दा कसैले रोक्न सक्दैन।    
प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update