राजनीतिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसित सम्बन्ध विच्छेद गरी विभाजनको उत्कर्षमा पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का द्वितीय अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनबिचको द्वन्द्ध को भएको दाबी गरेका छन्।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै असन्तुष्ट नेकपाका अध्यक्ष दाहालले अहिलेको लडाइँ पदको लागि नभएको भन्दै विचार, सिद्धान्त, प्रणालीको तथा अग्रगमन र प्रतिगमनको भएको बताए।
गत आम निर्वाचनमा स्थिर सरकारबिना देश विकास सम्भव नभएको भन्दै वाम गठबन्धनको नाममा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलपछि पार्टी एकीकरण समेत गरेका ओली र दाहालबीच विगत एक वर्षदेखि आन्तरिक विवाद र तिक्तता बढ्दै गएको थियो।
त्यसैको उत्कर्षमा एकअर्काप्रति तल्लो तहको भाषासहितको आरोप प्रत्यारोपमा उत्रिएका नेताद्वयबीच सहमति र सहयात्राको सम्भावना क्षण बन्दै गएपछि गत पुस ५ गते प्रधानमन्त्री ओलील%A प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेका थिए।
त्यसपछि नेकपाभित्र उत्पन्न द्वन्द्ध पार्टीको राजनीतिक विभाजनमा पुगेको थियो। जसको कारण दुई गुटबीच आरोप प्रत्यारोप चल्दै जाँदा ओलीले पदको लालचामा दाहाल र उनको गुटमा रहेको नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले आफ्नो नेतृत्वविरुद्ध षडयन्त्र गरेकोले त्यसलाई चिर्न संसद विघटनको बाटो रोज्न परेको बताउँदै आएका छन्।
ओलीको उक्त आरोपको खण्डन गर्ने क्रममा नेता दाहालले आफुहरु पदको लागि नै लडाई गरिरहेको अफवाह ओली पक्षले फैलाएको भन्दै अफवाहका कुनै सत्यता नरहेको दाबी पनि गरे।
अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै दाहालले ओली जनताबाट टाढिएको दाबी समेत गरे।
पुस ५ गतेदेखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको उनको दाबी थियो।
दाहालले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि ओली रक्षात्मक अवस्थामा गइसकेको प्रतिक्रिया दिए।
साथै उनले माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने दाबी गरे।
त्यस्तै नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ओलीले नारायणहिटी अघि आयोजना गरेको माघ २३ गतेको सभा ०४६ सालअघि पञ्चहरुले गरेजस्तै पञ्च¥यालीको पुनरावृत्ति भएको दाबी गरे।
उक्त कार्यक्रममा तीन लाख मानिस उतार्ने बताए पनि २०–२५ हजार मानिसहरु मात्रै आएपछि ओली समूहका नेताहरु निराश भएर एक अर्कालाई आरोप लगाएर बसेको समेत उनले बताए।
नेपालले संविधान र लोकतन्त्र बचाउनका लागि अहिलेको लडाई भएको र त्यसैका लागि आफुहरु जनतामाझ गएको जिकिर गरे।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरुले सरकारले संविधान कुल्चने काम गरेको र लोकतन्त्रका उपलव्धीहरुलाई नै धरापमा पार्ने काम गरेकाले आफुहरु संघर्षमा उत्रनु परेको बताए।
प्रकाशित मिति: आइतबार, माघ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय