हिमाल दैनिक
नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्न सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको बैठक फागुन ५ गतेका लागि तय गरेका छन्। कोरोना महामारीको संक्रमण फैलिनुअघि गत वर्षको पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४औं महाधिवेशन कोरोना महामारीसँगै पार्टीको आन्तरिक तयारीमा देखिएको कमजोरीका कारण असम्भव बनेपछि उक्त मितिमा हेरफेर गर्न सभापति देउवाले बैठक बोलाएका हुन्। पार्टी मुख्यालयका मुख्यसचिव कष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, पार्टीका सबै पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई ५ गते बुधबार अपरान्ह २ बजे बस्ने बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ। पार्टी विधान अनुसार, नियमित रुपमा चारवर्षभित्र अधिवेशन गर्न नसकेको कांग्रेसको कार्यकाल विधानकै व्यवस्था अनुसार विशेष परिस्थितिमा एक वर्ष थप गरिएको थियो। जसअनुसार, फागुन १९ गतेभित्र पार्टीको अधिवेशकन सम्पन्न गरिसक्नु पर्ने व्यवस्था भएपनि कोरोना महामारी असरसँगै आन्तरिक विवादका कारण निर्धारित समयमा नयाँ विधानको प्रावधानअनुसार तल्लो तहको संरचनामा समायोजनदेखि क्रियाशील सदस्यता नविकरण, वितरण लगायतका काम समयमा सम्पन्न हुन नसक्दा महाधिवेशन गर्न असम्भव बनेको थियो। जसको कारण सभापति देउवाले संविधानमा रहेको प्रावधानका आधारमा विशेष अवस्थामा पाँच वर्षपछि थप ६ महिनाभित्र अधिवेशन गरिसक्नु पर्ने बाध्यकारी प्रावधानलाई टेक्दै फागुन १९ पछि ६ महिना थप गर्ने तयारीमा रहेका छन्। त्यसका अतिरिक्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि पार्टी नेतृत्वले पछिल्लो घटनाक्रमबाट उत्पन्न राजनीतिक अन्यौलताबारे सर्वोच्च अदालतबाट आउन सक्ने फैसलाको आधारमा पार्टी रणनीति तय गर्ने योजनामा पार्टी नेतृत्व रहेको छट। यसरी थपिएको समय सीमाभित्र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा जानु पर्ने अवस्था आएमा सोही मुताविक र प्रतिनिधि सभा विघटनको निर्णय बदर भएमा सोही अुसार पार्टीको अधिवेशन सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारीमा नेतृत्व क्रियाशील रहेको एक नेताले बताए। यसका अतिरिक्त प्रतिनिधि सभा विघटनको विरुद्धमा पार्टीले फागुन ३ गतेका लागि तय गरेको ७७ जिल्ला केन्द्रीत विरोध कार्यक्रममा सबै नेता, केन्द्रीय सदस्यहरु खटिएको कारण फागुन ६ गते पदाधिकारी बैठकमार्फत पछि बस्ने केन्द्रीय समितिले अनुमोदन गर्नेगरी पार्टीको बैठक बोलाउने तयारीमा देउवा रहेका थिए। तर, देउवाका हरेक गतिविधि र निर्णयको निरन्तर विरोधमा उत्रिँदै आएका पार्टी नेता रामचन्द्र पौडेल लगायत असन्तुष्ट पक्षले देउवाको उक्त रणनीतिविरुद्ध राजनीतिक मुद्दा उछाल्दै ५ गते नै आफ्नो पक्षका जिल्ला सभापति, पूर्व सांसद लगायतका सदस्यहरुलाई पार्टी कार्यालयमा भेला गराएर नयाँ विवाद श्रृजना गर्ने तयारी गरेपछि त्यसलाई निश्तेज पार्न देउवाले ५ गतेकै लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन्। उक्त बैठकमा सभापति देउवाले फागुन ७ गतेका लागि तोकिएको महाधिवेशन असम्भव भएको अवस्थामा नयाँ कार्यतालिकासहितको मितिबारे छलफल गर्ने स्रोतले बतायो। सभापति देउवासहित संस्थापन पक्षका नेताहरु अदालतले प्रतिनिधि सभा विघटनको निर्णय सदर गरेको खण्डमा वैशाख÷जेष्ठमा हुन सक्ने मध्यावधि निर्वाचनलाई केन्द्रमा राख्दै महाधिवेशनको आन्तरिक तयारीका कार्यतालिका तय गर्ने छन्। यदी सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरिदिएमा त्यसपछि उत्पन्न हुन सक्ने राजनीतिक परिस्थितिको विश्लेषणका आधारमा अधिवेशनको कार्यतालिका तय गर्दै भदौ दोस्रो साताभित्रै अधिवेशन गरिसक्ने योजनामा देउवा रहेका छन्। तर, पौडेलसहितका असन्तुष्ट पक्ष भने आगामी जेष्ठ महिनाभित्रै महाधिवेशन गरिसक्ने गरी नयाँ कार्यतालिका तय गर्न नेतृत्वलाई दबाब दिने रणनीतिमा लागि परेका छन्। पार्टीभित्रको असन्तुष्ट पक्षले अपनाएको रणनीतिमा व्यवहारिक कठिनाई रहेको संस्थापन पक्षको भनाई छ। यदी वैशाख अथवा जेठमा चुनाव हुने भयो भने अधिवेशनको कार्यतालिका त्यसैपनि भदौमा पुग्ने छ भने, प्रतिनिधि सभा पुनस्थापना भएको अवस्थामा त्यसपछिको तीन महिना राष्ट्रिय राजनीतिमा केन्द्रीत हुँदै अधिवेशनको तयारी गर्न मात्र होइन जेठ १५ गते संविधान अनुसार वार्षिक बजेट ल्याउनु पर्ने प्रावधानले पनि कांग्रेसको अधिवेशन प्रभावित हुने सम्भावना रहेको छ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update