नेपाली कांग्रेसका नेता बालकृष्ण खाडले संविधान र लोकतन्त्रसँगै जनताको जीवन समेत रक्षा गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका छन्।
प्रतिनिधि सभा विघटनको विरोधमा पार्टी निर्णय बमोजिम सोमबार रुपन्देहीमा आयोजित विरोध सभामा बोल्दै विघटित संसदमा कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाडले नेकपाका अध्यक्ष ओलीको सरकारले सुरुदेखि नै नागरिकका मौलिक हकमाथि प्रहारको सुरुवात गरेको आरोप लगाए।
उनले ओली सरकारले प्रेस स्वतन्त्रता र सूचनाको हक कुण्ठित गर्न सूचना प्रविधि विधेयक ल्याउनेदेखि संविधानले स्पष्ट व्यवस्था गरेको राष्ट्रिय सूरक्षा परिषद ऐनमा सेनाको प्रमुख नरहने गरी विधेयक ल्याउने कोशिश गरेको आरोप लगाए।
ओलीले थुप्रै संविधान र मौलिक हक विरोधी कानून बनाएर हाम्रा नेताहरुको नेतृत्वमा बनाएको लोकतान्त्रिक संविधानमाथि नै प्रहार गर्ने कार्य गरेको बताउँदैयसलाई नेपाली जनताले कदापि स्वीकार नगर्ने दाबी गरे।
‘नेपालमा जतिबेला राणा शासन थियो त्यतिबेला उसले जनताको अस्थित्व स्वीकार गरेन राणा सकियो। पंचायतकालमा जनताको अस्थित्व स्वीकार गरेन त्यो फालियो, राजा ज्ञानेन्द्रले जनताको प्रजातान्त्रिक हकमाथि धावा बोल्दा राजा सकिए अहिले कम्युनिष्टका प्रधानमन्त्री ओलीले संविधान च्यातेर लोकतन्त्र समाप्त पार्दै कम्युनिष्ट शासन होइन, कम्युनिष्ट राज्य स्थापना गर्न चाहेका छन्। अब नेपालबाट कम्युनिष्ट सकिने पालो आएको छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको रक्षा त गरेनन् गरेनन् जनताको जीवन रक्षा समेत गर्न चाहेनन्। त्यसको प्रमाण हो कोभिड–१९ को महामारीबाट जनताको जीवन रक्षा गर्न चाहेनन् र सकेनन् भने अब उनी एक मिनेट पनि सरकारमा बस्ने नैतिक अधिकार छैन।
देशको सीमा क्षेत्रमा रहेर देशको भूमि र सीमा रक्षा गर्ने मधेसीलाई अराष्ट्रिय देख्ने, देशविरोधी देख्ने ओली आफैँ अराष्ट्रवादी र देश विरोधी भएको बताउँदै ओलीले आफ्ना क्रियाकलाप नसच्याए कांग्रेसको नेतृत्वमा हुने आन्दोलनले बढार्ने चेतावनी दिए।
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय