हिमाल दैनिक
निर्वाचन आयोगकाे माैनताप्रति देउवाको आशंकाः जेठभित्रै चुनाव गर्ने हो भने तयारी खोई?
Deuba in Rupandehi
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले वैशाखमा चुनाव गराउँछु भनेपनि निर्वाचन आयोगले निर्वाचनको कुनै तयारी नगरी बसिरहेको भन्दै आयोगप्रति आक्रोस व्यक्त गरेका छन्। प्रतिनिधि सभाको विघटनको विरोधमा पार्टीले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न रुपन्देही पुगेका सभापति देउवाले सोमबार सरकारले निर्वाचनको घोषणा गरेपनि निर्वाचन आयोगले निर्वाचनको तयारीबारे केही नगरी बसिरहेको आरोप लगाए। ‘अदालतले भन्दा पनि निर्वाचन आयोगले बदमासी गर्ने सक्छ है, होस गर्नुहोस्,’ देउवाले निर्वाचनको कार्यतालिका प्रकाशित नगरी बसिराखेको अवस्थाप्रति औल्याउँदै भने। कुनै पनि संसदको विघटन भएको ६ महिनाभित्र चुनाव गराउनै गर्ने बाध्यकारी व्यवस्था संविधानमा रहेको बताउँदै उनले कम्तिमा पनि जेठको अन्तिमसम्ममा चुनाव गराउनै पर्ने बताए। निर्वाचन आयोग संविधान बाहिर जान नसक्ने बताउँदै यसका बाबजूद आयोग कुनै मतलब नै नगरी बसिरहेको आरोप पनि उनले लगाए। ‘यसैकारण यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नु पर्छ। यो चुनाव गराउने काममा ओलीले भनेका छन् वैशाखभित्रै चुनाव गराउँछु भनेर भने आयोगले किन केही बोल्दैन र केही भन्दैन? त्यसकारण निर्वाचन आयोगमाथि शंका गर्नु पर्ने बेला भइसकेको छ,’ उनले भने। ‘किन आयोगले अहिलेसम्म निर्वाचनको कार्यतालिका प्रकाशित गरिरहेको छैन? सबै पार्टीलाई बोलाएर कुन पार्टीलाई के दिने भनि दिने काम गरिरहेको छैन? चुनावको कार्यक्रम किन दिनसकिरहेको छैन? चुनावको कार्यक्रम दिने काम निर्वाचन आयोगको हो,’ उनले भने। चुनाव नगराउने भए पनि आयोगले आफू चुनाव गराउँदिन भन्न र गराउने हो भने त्यसको तयारीमा ढिलाई गर्न नहुने तर्क देउवाले गरे। अहिले आयोगले अदालतको निर्णय कुरेर बस्ने काम गलत भएको बताउँदै उनले यदी अदालतले विघटनको निर्णय बदर गरेको खण्डमा निर्वाचन नगरे हुने तर, तयारी अवस्थामा बसेर केही नबिग्रने बताए। उनले पटक पटक आयोगप्रति लक्षित गर्दै जनतालाई ६ महिनाभित्रै चुनाव गराइसक्ने विश्वास दिलाउन माग गरे। अदालतको फैसला के आउला त्यो अदालतको विषय भएको बताउँदै उनले निर्वाचन आयोगले चुनावको तयारी गर्नै पर्नेमा जोड दिँदै कुनै पनि बेलामा चुनाव हुन सक्ने तयारी अवस्थामा आयोग बस्नु पर्ने बताए। बेलात, फ्रान्स जस्ता मुलुकमा पनि निर्वाचन आयोग चुनावका लागि जुनसुकै बेलामा तयारी अवस्थामा बस्ने गरेको उल्लेख गर्दै अहिले नेपालमा पनि आयोगले आफू चुनावको लागि तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिए। तर, आयोगले अहिलेसम्म चुनाव गराउने वा नगराउनेबारे केही नबोलेको भन्दै उनले भने, ‘किन यसले बोल्दैन?... चुनाव चिन्हकोे लागि झगडा हुँदा किन टुंगो लगाउँदैन?’ नेकपाभित्रको पार्टी विभाजनको विषयमा आयोगले केही नगरी बसिरहेको बताउँदै उनले भने, ‘अहिलेसम्म निर्णय किन गर्न सक्दैन? चुनाव चिन्ह सूर्य एउटै हो ओलीलाई दिए पनि प्रचण्डलाई दिएपनि भइहाल्यो। दुबैलाई दिन सक्दैन। एउटाले पाउने हो भने किन अलमल? विश्वभर हराएर गएका कम्युनिष्टहरुलाई नेपालमा कांग्रेसविरुद्ध लड्न राजाले नै बढाएकोे र पालेको आरोप लगाउँदै देउवाले तर, पछि त्यही राजा आफैँ फालिनु परेको बताए। माओवादी हिंसात्मक द्वन्द्धको मारबाट देश र जनतालाई मुक्ति दिन तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले भारतबाट प्रचण्डलाई ल्याएको र उनले प्रजातन्त्र मान्छु भनेकोले संविधान सभा निर्वाचन गराएर राजालाई पनि हटाएको उनले बताए। देशबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएपनि कम्युनिष्टहरुमा निरंकुश राजतन्त्रको चरित्र देखिएको बताउँदै उनले भने, ‘प्रजातन्त्र मान्छु भनेर आएका कम्युनिष्टहरु अर्को राजा भए यिनीहरु। राजाभन्दा पनि चर्का भए प्रचण्ड र ओली।’ पछिल्लो समय नेकपाका ओली र दाहालबिच कुर्सीका लागि झगडा र मारामार भएको बताउँदै त्यसमा आफूहरुको कुनै हात नभएको बताए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको झगडाले आफ्नै पार्टीभित्र पनि समस्या पारेको देउवाले बताए। ‘उनीहरुको पार्टीभित्रको झगडाले हाम्रो पार्टीमा समस्या पारेको छ। कोही प्रचण्ड ठिक भन्छन् कोही ओली ठिक भन्छन् हेर्नुहोस् न! यिनको झगडाले हाम्रै पार्टीमा समस्या परिसक्यो,’ भन्दै उनले आफ्नो पार्टी कुनै पक्षतिर लाग्ने काम नभएको बताए। अहिले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका रुपमा रहेको बताउँदै उनले उक्त मुद्दालाई आफ्नो पक्षमा पार्न राम्रा वकिलहरु राख्न सकिने तर, ठूलो जुलुस निकालेर अदालतलाई प्रभावित पार्छु भन्न नहुने बताए। ‘अदालतमा राम्रो वकिल राखेर प्रभावित गर्ने कुरा एउटा कुरा हो तर, कसले कति ठूलो जुलुस ल्याउँछ त्यसैलाई हेरेर अदालतले निर्णय गर्ने हो भने किन चाहियो अदालत? माओवादी (प्रचण्डको) ठूलो जुलुस हुन्छ कि ओलीको जुलुस ठूलो हेरेर निर्णय गर्ने हो र? ठूलो जुलुस हेरेर निर्णय गर्ने हो भने किन चाहियो अदालत? अदालतप्रति विश्वास गर्न आग्रह गर्दै उनले अदालतले विघटनको निर्णय गलत छ भने पनि अथवा चुनावमा जाउ भने पनि त्यसलाई स्वीकार्नु पर्ने उनले बताए। सबैभन्दा ठूलो अदालत भनेको जनता नै भएको बताउँदै चुनावमा जाउ भनेको अवस्थामा जान्न भन्न नमिल्ने पनि बताए। ‘हामीले भन्ने एउटै कुरा हो, अदालतमा विचाराधीन मुद्दामा जुलुस गरेर हामीले यसो गर वा उसो गर भन्न मिल्दैन। बरु राम्रो वकिल राखे हुन्छ। यसैले म भन्छु, विचाराधीन मुद्दामा अदालतको निर्णय पर्खौँ। त्यसपछि निर्णय गरौला भन्दा हाम्रौ पार्टीका साथीहरु कोही के भन्छन् कोही साथीहरु के भन्छन्,’ देउवाले असन्तुष्ट पक्षको गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै भने। आफ्नो पार्टी स्वतन्त्र न्यायपालिकामा विश्वास गर्ने पार्टी भएको बताउँदै आफ्नो पार्टीले अदालतबाट निश्पक्ष न्याय आउँछ भन्ने विश्वास गरेको र उक्त निर्णय स्वीकार गर्ने बताए। गत आमचुनाव अघि कम्युनिष्टले जिते भने, बोल्न, लेख्न र रुन पनि पाइँदैन भनेको स्मरण गर्दै उनले अहिले कम्युनिष्ट सरकारले गाउँ गाउँसम्म पनि जनतालाई अनेक दुःख दिने काम गरिरहेको बताए। जनतालाई धम्क्याउने, तर्साउने कार्यदेखि अनगिन्ती भ्रष्टाचारका गतिविधिले सीमा नाघेको भन्दै उनले अहिले सरकारले विषयगत निर्णयलाई पनि मन्त्रिपरिषदमा लगेर नीतिगत निर्णय भन्ने काम गरिरहेको आरोप लगाए। यसलाई आफ्नो पार्टीको सरकार बनेपछि कुनै हालतमा नछाड्ने बताउँदै विषयगत निर्णयलाई मन्त्रिपरिषदबाट नीतिगत निर्णय गर्न गलत गतिविधिप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराए। आफ्नो पार्टीका नेता, कार्यकर्तालाई जनताको घरमा निरन्तर गएर जनताको मन र मत जित्न सुझाव दिँदै जुनसुकै समयमा हुनसक्ने चुनावका लागि तयारी अवस्थामा बस्न सुझाव दिए।    
प्रकाशित मिति: आइतबार, फागुन २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update