हिमाल दैनिक
प्रम ओलीका कार्यकर्ताद्वारा कांग्रेस नेता साउद/संग्रौला सहभागी कार्यक्रममा ढुंगामुढा प्रहार
NP Saud
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौलासहितका नेताहरु सहभागी एक कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समर्थित कार्यकर्ताले आक्रमण गरेका छन्। प्रतिनिधि सभाको विघटन विरुद्ध पार्टीले आयोजना गरेको देशव्यापी विरोध कार्यक्रममा सहभागी हुन बैतडी पुगेका नेताद्वय सहभागी कार्यक्रममा मंगलबार अपरान्ह ओली समर्थित कार्यकर्ताले आक्रमण गरेका थिए। साउदका सहयोगी दिपक जोशीका अनुसार, बैतडीको डिलसैनी गाउँपालिकामा आयोजित कार्यक्रममा सभा चलिरहेकै समयमा नेकपाका स्थानीय नेता, कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण गरेपछि साउदसहित तीन जना सामान्य घाइते भएका छन्। जिल्ला पार्टी सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्वका अतिरिक्त नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी उक्त कार्यक्रममा नेकपाका कार्यकर्ताको आक्रमणपछि कांग्रेसका तरुण दल सदस्यहरुले प्रतिवाद गर्दा केहीबेर कार्यक्रम प्रभावित भएको जोशीले बताए। नेकपाको आक्रमणबाट केही सवारी साधन पनि तोडफोड भएको छ। यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको भन्दै घटनाको निन्दा गरेको छ। साथै कांग्रेसले उक्त प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गरेको छ। उता प्यूठानमा सोमबार आयोजित कांग्रेसको विरोध सभामा सहभागी हुन पुगेका स्थानीय कार्यकर्ता तुनाराम खत्री र सागर जिएमलाई स्थानीय प्रहरीले प्रधानमन्त्री ओलीविरुद्ध अश्लिल नारा लगाएको आरोपमा पक्राउ गरेको छ। कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजाल र योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल सहभागी विरोध सभामा सहभागी स्वर्गद्वारी नगरपालिकाको १ बाट सदरमुकाम आएका खत्री र जिएमलाई नेकपाका स्थानीय कार्यकर्ताको ठाडो उजुरीमा प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएर वयानपछि छाडेको खत्रीले बताए। आफूहरुमाथि ओलीविरुद्ध अश्लिल गालीगलौज गरेको आरोप लगाएर प्रहरी नियन्त्रणमा हिँजो साँझ घर फर्किने क्रममा गरिएको बताउँदै खत्रीले आफूहरुले कार्यक्रममा जाने क्रममा ओलीको निरंकुश कदमको विरोधमा नारा लगाए पनि व्यक्तिगत गालीगलौजको नारा नलगाएको बताए। कांग्रेस कार्यकर्तामाथि प्रहरीले गरेको ज्यादतीलाई ओली सत्ताको निरंकुश चरित्रको नांगो रुप भएको बताउँदै नेता पोखरेलले ओली र उनका कार्यकर्ताहरु पञ्चायत कालमा जस्तै आफ्नो विरोधीहरुलाई अनावश्यक दुःख दिन उद्दत भएको आरोप लगाए।  
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update