नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कुनै दल विशेषको नेता वा समूहले आश्वासन दिँदैमा प्रधानमन्त्री बनिहाल्छु भनेर राजनीतिमा नलागेको स्पष्टिकरण दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको प्रधानमन्त्री तपाई नै हो भनेर आश्वासन दिएको कारण सभापति देउवाले असंवैधानिक र अलोकतान्त्रिक ढंगले भएको प्रतिनिधि सभा विघटनको विरुद्धमा निर्णायक सडक आन्दोलनमा उत्रन र पुनस्थापनाको पक्षमा उभिन नचाहेको भनि पार्टी नेता रामचन्द्र पौडेलले लगाएको आरोपको कडा प्रतिवाद गर्दै देउवाले यस्तो स्पष्टिकरण दिएका हुन्।
पार्टी विधान अनुसार, पूर्वनिर्धारित समयमा १४औं महाधिवेशन सम्पन्न गर्न असम्भव भएपछि संविधानको साहारामा ६ महिना समयसीमा थप्नका लागि बुधबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा देउवाले आफ्नाविरुद्धमा पौडेल लगायतका नेताहरु नियोजित रुपमा चरित्र हत्या गर्न यस्ता आधारहिन हल्ला फिँजाइरहेको भन्दै रोष समेत प्रकट गरेका थिए।
पार्टीका शीर्ष नेताहरुको सहमतिमा पदाधिकारीको अनौपचारिक बैठकले तय गरेका प्रस्ताव बाहिर गएर नेता पौडेलले ओलीको असंवैधानिक कदमको विरोधमा उभिँदै पुनस्थापनाको पक्षमा पार्टीले सर्वसम्मत निर्णय गरेर पुनस्थापनाको पक्षमा जनमत तयार पार्नुु पर्ने तथा प्रदेश सभामा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिनु पर्ने धारणा राखेका थिए।
यसरी आफ्नो धारणा राख्ने क्रममा नेता पौडेलले ओलीले अवको प्रधानमन्त्री तपाई नै हो भनिदिएको कारण त्यही आश्वासनमा परेर सभापति देउवा संसद पुनस्थापनाको पक्षमा निर्णय गरी सडक आन्दोलन चर्काउन तयार नदेखिएको आरोप बाहिर सार्वजनिक रुपमा आइरहेको बताएका थिए।
साथै उनले ओलीको कदमबाट मुलुकको संविधान, लोकतन्त्र र प्राप्त उपलब्धी खतरामा परेको भन्दै ओलीले भनेको समयसीमाभित्र निर्वाचन सम्भव नभएको समेत बताएका थिए।
अरु दिनको बैठकमा आफूविरुद्ध कुनै नेताले कुरा राख्दैगर्दा बिचमै प्रतिवाद र सवाल, जवाफमा उत्रिने गरेको देउवाले आजको बैठकमा पौडेलका कुरा सुनिसकेपछि मात्रै जवाफ फर्काएका थिए।
सभापति देउवाले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्री बनाएर बन्ने आशा राखेर अथवा कसैले दिएको भरमा कोही प्रधानमन्त्री बन्ने वा बनाउने प्रावधान नेपालको संविधानमा नभएको भन्दै आफ्नो चरित्र हत्या गर्ने कार्य बन्द गर्न आग्रह गरेको बैठकपछि नेता बीरबहादुर बलायरले बताए।
‘तपाई कोसँग कुरा गर्दै हुनुहुन्छ? मलाई ओलीले प्रधानमन्त्री दिने प्रावधान नेपालको संविधानमा कहीँ कतै छैन र त्यो आशा राखेर बसेको पनि म छैन। मेरो ध्यान त कसरी पार्टीलाई बलिायो बनाएर आगामी निर्वाचनमा जनताको मन र मत जितेर सफलता हाँसिल गर्ने भन्नेमा मात्रै केन्द्रित छ,’ देउवाको भनाई उल्लेख गर्दै बलायरले भने।
आफू र आफ्नो पार्टी स्वतन्त्र न्यायापालिकामा विश्वास गर्ने बताउँदै अदालतमाथि दबाब र प्रभाव पार्न सडकमा उत्रने पक्षमा नभएको बताएका थिए।
देउवाले आफू अदालतमार्फंत संसद पुनस्थापना भएपनि अथवा विघटन सदर गरी निर्वाचनमा जान भने पनि त्यसलाई स्वीकार्दै अघि बढ्न तयार भएको विषयलाई आफ्नो चरित्र हत्या गर्ने योजना मुताविक हल्ला मच्चाउने कार्य भएको आरोप लगाएका थिए।
पौडेलले सडक आन्दोलन चर्काएर पुनस्थापनाको पक्षमा माहोल श्रृजना गर्न राखेको भनाईको प्रतिवाद गर्दै देउवाले सडकमा हुल देखाएर अदालतको निर्णय प्रभावित गर्ने कुरामा असहमति जनाएका थिए।
‘सडकमा हुलै देखाएर अदालतलाई प्रभावित गर्ने हो भने पनि हामी र हाम्रो पार्टीसँग भन्दा अहिले नेकपाका दुई पक्षसँगै राज्य स्रोत र पैसा पनि बढी छ। त्यसको आधारमा उनीहरुले नै हाम्रो भन्दा ठूलो भिड सडकमा जम्मा गर्न सक्छन् र हाम्रो भन्दा उनीहरुकै संगठन र संख्या सडकमा उत्रन बढी क्रियाशील छन्,’ देउवाले बैठकमा भनेका थिए।
पौडेल लगायतका नेताहरुले अहिलेको अवस्थामा अदालतले संसद विघटनको कदमलाई सदर गरिदिएको खण्डमा पनि ओलीले घोषित मितिमा चुनाव नगराउने र यसले देशको संविधान र लोकतन्त्र खतरामा पर्ने भन्दै गरिरहेको तर्कको पनि देउवाले प्रतिवाद गरेका थिए।
यो चुनाव हुँदै हुन्न भन्ने कुरा कहाँबाट आइरहेको छ भन्ने प्रश्न गर्दै देउवाले विगतमा तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामार्फत संसदमा प्रवेश गराउँदा कहीँ कतै केही नबोलकाहरुले नै पछि संविधान सभा निर्वाचनको मनोनयन दर्ता भइसकेपछि चुनावै हुन्न भनि हल्ला मच्चाए जस्तै आफ्नो नेतृत्वको सरकारले ०७४ मा निर्वाचन गराउँदा पनि त्यस्तै हल्ला फिँजाएको बताएका थिए।
‘अहिले पनि त्यस्तै गलत हल्ला किन र कसरी आइरहेको छ? यदी अदालतले विघटनको निर्णय सदर गरी चुनावमा जाने बाटो खोलिदियो र भोलि चुनाव भएन भने त्यसपछि आन्दोलनमा जाने कुरा छँदैछ। प्रधानमन्त्री ओलीले संविधान बमोजिम ६ महिनाभित्र चुनाव गराउँन सकेनन् भने त्यो अवस्थामा उनी पनि सत्तामा टिकिरहन सक्दैनन्,’ देउवाले बैठकमा भनेका थिए।
साथै उनले निर्वाचन आयोगको काम जतिबेला पनि चुनाव हुन सक्ने र गराउन सक्ने तयारी अवस्थामा बस्नु पर्ने बताउँदै आयोगलाई ९० दिनको समय नै चाहिन्छ भन्ने कही कतै नभएको बताएका थिए।
ओलीले संविधान र लोकतन्त्र धरापमा पार्दा पनि पार्टी नेतृत्व मुकदर्शक बनेर बसेको आरोप खेप्दै आएका देउवाले आजको बैठकमा पौडेल लगायत आफ्ना आलोचकलाई ठाडै हपारेका थिए।
‘अँ यो संविधान तिमीले मात्रै लेखेको हो, मैले केही गरेको होइन र छैन? ओलीले मलाई प्रधानमन्त्री दिनैका लागि संसद भंग गरेको हो?’ देउवाले आक्रोसित मुद्रामा प्रतिवाद गर्दै भनेका थिए।
देउवाले आफ्ना लागि पार्टी बलियो बनाएर संविधान र शासन व्यवस्था बलियो बनाउने बाहेक आफ्ना लागि प्रधानमन्त्री हुने वा नहुने कुरा गौण विषय भएको बताएका थिए।
साथै उनले आफूलाई ओलीले मात्रै नभएर प्रचण्ड–माधवकुमार नेपाल पक्षले पनि प्रधानमन्त्री बन्न प्रस्ताव राखेको सुनाउँदै आफू सांसद र संसदीय दलको नेता हुँदा पन िचुनावकै पक्षमा उभिएको तर, संसदभित्र नभएका नेताहरुलाई यही संसद किन चाहिएको भनि आश्चर्य व्यक्त गरेका थिए।
राजनीतिक रुपमा विभाजित भएपनि कानूनी र वैधानिक रुपमा नेकपा विभाजित नभएको भन्दै यस्तो अवस्थामा कुनै पक्षसँग नजिकिएर जथाभावी अदालतको विपक्षमा नजाने अडान देउवाले राखेका थिए।
प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय