कोरोना महामारीको पहिचान, परिक्षण र उपचारका क्रममा राज्यका तर्फबाट भएको आर्थिक व्ययको यथार्थ विवरणसहितको स्वेतपत्र जारी गर्न सरकारसँग नेपाली कांग्रेसले माग गरेको छ।
कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको कोभिड–१९ अनुगमन समितिले कोरोना महामारीबाट देश र जनतालाई सुरक्षित राख्न पूर्ण रुपले विफल भएको सरकारले महामारीको समयमा पनि चरम आर्थिक दुरुपयोग र भ्रष्टाचारजन्य गतिविधिमा सक्रिय रहेको आरोप लगाउँदै सरकारसँग स्वेतपत्रको माग गरेको हो।
बिहिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक एवं सहमहामन्त्री महतले भने, ‘सरकारले महामारीको समयमा पनि स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार गरेका घटनाहरुको छानविन गरी दोषीमाथि कारबाही गर्न र महामारीका नाममा भएको खर्चको पारदर्शी र विश्वसनीय विवरणसहितको स्वेतपत्र जारी गर्नु पर्छ।
महतले पछिल्लो समय भारतबाट अनुदानमा झिकाइएको कोरोना विरुद्धको खोप लगाउनेको प्राथमिकतामा जेष्ठ नागरिकलाई नपारिएकोमा असन्तुष्टि व्यक्त गरे।
महतले प्राथमिकतामा आधारमा ज्येष्ठ नागरिकलाई समेत समेटेर खोप वितरण गर्न सरकारको ध्यानाकर्षण गराए।
उनले सरकारले कोभिड–१९लाई लापरबाही रूपमा लिएको आरोप लगाउँदै महामारीको अवस्थामा सरकारले भ्रष्टाचारलाई दिर्नचर्या बनाएको आरोप समेत लगाए।
भारतले अनुदानमा दिएको खोपको वितरण पारदर्शी हुन नसकेको बताउँदै उनले उक्त खोपको अतिरिक्त विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको गुणस्तरिय खोप सम्भावित मुलुकबाट ल्याउन र खोप वितरणको विस्तृत कार्ययोजना बनाएर सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउन सरकारसँग माग गरे।
पछिल्लो समय कोरोना भाइरसको संक्रमणमा कमी देखिएपनि नयाँ प्रकारको भाइरसको जोखिम उत्तिकै रहेकाले जोखिम न्यूनिकरणका लागि सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराए।
प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय