हिमाल दैनिक
पुनस्थापना नै भएछ भनेपनि चुनावका लागि २ वर्ष कुर्न सक्ने स्थितिमा मुलुक छैनः रिजाल
Minendra Rijal
नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम पश्चात देश चुनावमा गइसकेको बताएका छन्। नेता रिजालले सोमबार आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र अवसरः नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सर्वोच्च अदालतको फैसलापछि संसद पुनस्थापना नै भएछ भने पनि देशलाई चुनावमा जानका लागि बाँकी दुई वर्ष थेग्नु मुर्खतापूर्ण सोच हुने बताए। पार्टीभित्र असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा सशक्त पैरवी गर्दै सडक आन्दोलनमा उत्रन नेतृत्व तयार नभएको भन्दै सार्वजनिक रुपमै आलोचना गरिरहेकोबेला उक्त खेमा निकट मानिने नेता रिजालले यस्तो धारणा राखेका हुन्। उनले चुनवाको मात्रै कुरा नगरी पद्दती जोगाएर जाँदा मात्रै संविधान सहि बाटोमा आउने बताए। विशेषगरी पछिल्लो समय सभापति शेरबहादुर देउवा र नेता पौडेलबीच देखिएको मतभेदप्रति लक्षित गर्दै नेता रिजालले भने, ‘सभापति देउवा र नेता पौडेलबीच भिनो मतान्तर देखिएको भएपनि गम्भीर मतभेद छैन। तर, उहाँहरुको प्रस्तुतीको तरिका मात्रै मिलिरहेको छैन।’ साथै उनले देउवा र पौडेल मिलेर संसद पुनस्थापना गरी संविधान जोगाएर ६ महिनाभित्र चुनावमा जान सकिने बताए। पुनस्थापना र चुनावको प्राथमिकताबारे नेताहरुबीच देखिएको विवाद वास्तविकतामा पार्टीको महाधिवेशन पश्चात आउने नयाँ नेतृत्वले चुनावको टिकट वितरण गर्ने कि टिकट वितरण पश्चात महाधिवेशनमा जाने भन्ने स्वार्थमा केन्द्रित विवाद बाहेक केही नभएको बताए। राजा महेन्द्रले कांग्रेसका नेताहरुलाई जेलमा थुनेर कांग्रेस विरुद्धमा फैलाएको झुटा आरोपको आडमा हुर्काए बढाएका कम्युनिष्टहरुलाई कांग्रेस नेतृत्वले ०४६ को आन्दोलन र ०६२/०६३ पछिको शान्ति प्रक्रियामा ल्याउँदा लोकतान्त्रिक शासन व्यवस्थामा प्रदुषण बढाएको उनले बताए। यही क्रममा नेकपा अध्यक्ष केपी शर्मा ओलीले झण्डै ५६ प्रतिशत जनमत हाँसिल गरेपनि संविधान र शासन व्यवस्था संचालनमा असफल भएर मध्यावधिको घोषणा गरेको मात्र होइन सडकमा त्यसको विरुद्धमा पनि कम्युनिष्टहरु नै देखिएको बताए। साथै उनले अदालतको फैसला आफ्नो पक्षमा नआए आन्दोलनमा जाने धम्कीपूर्ण अभिव्यक्ति दिएर प्रधानमन्त्री ओलीले अधिनायकवादी चरित्रको उदांगो रुप देखाएको बताए। संसद विघटनको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेकोले कांग्रेसले चारतारे झण्डासँगै चुनाव चिन्ह रुख लिएर जनतामाझ जानु पर्ने बताए। अदालतले विघटनलाई सदर गरिदिएको अवस्थामा घोषित समयसीमाभित्रै निर्वाचन हुन सकेको खण्डमा कांग्रेसका लागि यो अवसर सावित पनि हुन सक्ने सम्भावना रहेको उनले बताए। यसका बाबजूद कांग्रेससँग वर्तमानमा गिरिजाप्रसाद कोइराला जस्तो व्यवहारवादी अथवा बीपी कोइराला जस्तो दृष्टिकोण भएको अथवा गणेशमान र कृष्णप्रंसाद भट्टराई जस्ता त्यागी वा सुवर्णशम्शेर राणा जस्ता दानी नेताहरु नभएको बताउँदै वर्तमानमा भएकै नेतृत्वबाट समस्याको समधान खोज्नु परेको बताए। संविधान सभाका पूर्व सदस्य उदयशम्शेर राणाले कांग्रेसको केन्द्रीय कार्यसमितिभित्र ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति विवाद नभएपनि बाहिर विवाद देखिएको बताए। उनले आफू पनि संसद पुनस्थापनाकै पक्षमा भएपनि यसबारे निर्णय दिने निकाय सर्वोच्च अदालत नै भएको भन्दै उसको फैसला स्वीकार्नुको विकल्प नभएको बताए। साथै उनले संसद पुनस्थापना भएको अवस्थामा मात्र होइन, चुनावमा जानु पर्ने अवस्थाका लागि पनि तयारी अवस्थामा पार्टी बस्नु पर्ने बताए। संविधान सभाका पूर्व सदस्य रामहरि खतिवडाले संविधान, संसद र अदालतमाथि कम्युनिष्टहरुबाट आक्रमण हुँदा पनि पार्टीले आफ्नो स्पष्ट धारणासहितको बाटो पहिल्याउन नसकेको बताए। पार्टीभित्रको आन्तरिक लोकतन्त्र र मूल्यांकन पद्दतीमा देखिएको त्रुटितर्फ लक्षित गर्दै उनले जनताबाट स्थापित गरेका व्यक्तिलाई नेतृत्वले विस्तापित गर्ने तथा नेताहरुले स्थापित गरेका नेतालाई जनताले विस्थापित गरेको अवस्थाबारे गम्भीर समिक्षा जरुरी भएको बताए। कार्यक्रममा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका वर्तमान तथा पूर्व पदाधिकारी तथा सदस्यहरुले पनि आफ्ना धारणा राखेका थिए।
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update