हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनको निर्णय अदालतबाट बदर भएसँगै राजनीतिक र नैतिक संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत गुमेको अवस्थामा पद छाड्नै उपयुक्त हुने सुझाव दिएका छन्। कांग्रेसका गान्धीवादी नेता महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘आफ्नो दल र संसदभित्र बहुमत भए एउटा कुरा नभएर प्रधानमन्त्री ओलीले छोड्दा नै राम्रो होला।’ साथै उनले ओलीले पदबाट राजीनामा दिएको खण्डमा उनीविरुद्ध संसदमा अविश्वास प्रस्ताव नआउने भएपनि पदमा रहिरहेको अवस्थामा अर्का नेता पुष्पकमल दाहाल समूहले अविश्वास प्रस्ताव ल्याएर हटाउलान् कि के गर्लान भनि देश र जनताले हेरिरहेको बताए। गत आमनिर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनलाई जनताले विश्वास गरेर मत दिएपनि पछिल्लो समय पार्टीभित्रको आन्तरिक झगडापछि कानूनी रुपमा विभाजन नभएपनि पनि राजनीतिक रुपमा दुई समूहमा विभक्त भएको अवस्था रहेको बताए। दुई समूहमा बाँडिएको नेकपा अहिले पनि कानूनी रुपमा नफुटेको बताउँदै निर्वाचन आयोगमा पार्टीको नाम र चुनाव चिन्हको दाबी गर्दै परेको निवेदनबारे आयोगले जतिसक्दो चाँडो टुंगो लगाउनु पर्ने बताए। भलै देउवाले आफ्नो चाहना नेकपा फुटोस् वा विभाजित होस् नै भन्ने नभएको पनि बताए। लोकतन्त्रमा जनमतसँगै स्वतन्त्र न्यायालय र कानूनी शासनको उच्च सम्मान गर्दै शान्तिपूर्ण प्रक्रियाबाट सत्ता हस्तान्तरणको प्रक्रियालाई लोकतन्त्रको सुन्दरताको रुपमा व्याख्या गर्दै देउवाले कम्युनिष्ट पार्टी र त्यसको नेतृत्वमा अभाव रहने उनको दाबी थियो। सोही प्रसंगमा चर्चा गर्ने क्रममा लोकतन्त्रको उदाहरणका रुपमा रहेको अमेरिकामा पनि हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा जनताबाट पराजित निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुको सट्टा अदालतको समेत आदेश विपरित गएर संसदभित्र हंगामा मच्चाएको बताउँदै त्यसलाई आफूले भत्र्सना गर्नु परेको बताए। साथै उनले वर्मामा हालै भएको निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीले बहुमत प्राप्त गरेपछि पनि त्यहाँको सेनाले सत्ता कब्जा गरेर शान्तिपूर्ण सत्ता हस्तान्तरण नगर्दा अहिले दिनहुँ जनता आन्दोलनमा उत्रनु परेको पनि बताए। संसद पुनस्थापनाको आदेशपछि नेकपाका गुटगत नेताहरुले आफूसँग भेटवार्ता गरेको बताउँदै उनले आफू पार्टी र संसदीय दलको बैठकमार्फत आगामी रणनीति गर्ने बताए। कतिपय कांग्रेसका नेताहरुले देउवाको आलोचना गर्नेक्रममा अबको प्रधानमन्त्री देउवा भनिरहेकै बेला देउवाले भने आफूहरु सत्तापक्ष हुने कुरा त के विपक्षी दलको हैसियत समेत गुमाउनु पर्ने स्थितिमा पनि पुग्न सक्ने अवस्था रहेको बताए। विघटनको विषय लगायत कतिपय विषयमा कांग्रेसको भूमिकाप्रति आम जनतासँगै मिडिया जगतमा भइरहेको आलोचनाप्रति लक्षित गर्दै देउवाले भने, ‘भोट दिने बेलामा भोट नदिने अनि अहिले कांग्रेसले केही गरेन मात्रै भन्ने?’ आफ्नै भनाईको अर्थ सच्याउँदै देउवाले जेसुकै भएपनि आम जनता र पत्रकारहरुले कांग्रेस र आफ्नो आलोचना गर्नुको कारण उनीहरुमा कांग्रेसले केही गरिदिओस् भन्ने आशा र भरोसाको कारण चित्त दुःखेको बेलामा भनेको पनि हुन सक्ने बताए। संसदमा कांग्रेसको फितलो उपस्थिती रहेको बताउँदै उनले विगतमा विशेष अधिवेशन बोलाउन पनि आफ्नो दलसँग आवश्यक एक चौथाई सदस्यको संख्या समेत नभएको मात्र होइन, मधेसवादी दलले पनि विशेष अधिवेशनको लागि हस्ताक्षर गरौँ भन्दा तयार नभएको आरोप लगाए। यसका बाबजूद कांग्रेस मात्रै एकल लोकतान्त्रिक पार्टी भएको बताउँदै विघटन बदर पश्चात लिकमा आएको संविधान र शासन व्यवस्थालाई निधिले अंगालेको शान्ति र अहिंसात्मक सिद्धान्तको बाटोमार्फत दिगो र स्थायी बनाउन परेको बताए। साथै उनले आफ्नो पार्टीभित्र पुरानै रोगका रुपमा झगडा बाँकी नै रहेको बताउँदै यसका बाबजूद पनि आगामी भदौ १९ गतेभित्र १४औं महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको बताए।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update