हिमाल दैनिक
ओलीसँग अलिकति मात्रै नैतिकता बाँकी छ भने तत्काल राजीनामा दिनुपर्छः निधि
Nidhi foundation
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति मात्रै नैतिकता बाँकी रहेको छ भने तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिएर देखाउन सुझाव दिएका छन्। पार्टी नेता महेन्द्रनारायण निधिको ९९औं जन्मजयन्तीको अवसरमा निधि प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उक्त प्रतिष्ठानका संरक्षक समेत रहेको उपसभापति निधिले सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएपछि अब मुलुक संसदीय प्रक्रियामा प्रवेश गरेको बताए। ‘अब राजनीतिक र नैतिक रुपमा हेर्दा संसद विघटनको निर्णय बदर गरिदिएपछि उक्त विघटनको सिफारिसकर्ता प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा पदमा बस्ने अधिकार छैन,’ उनले भने। मंगलबार सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटनको निर्णय बदर मात्रै नगरी १३ दिनभित्र संसद अधिवेशन बोलाउन समेत आदेश दिएको बताउँदै अब लिकमा आएको संविधानसँगै लिकलाई जोगाउन पार्टीहरुले जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न पर्ने बताए। पछिल्लो समय नेताहरुबीचको विवादपछि दुई समूहमा विभाजित भएको सत्तारुढ नेकपामा एकले अर्को पक्षको नेता हटाएको भएपनि अब उक्त गुट हो कि अलग अलग पार्टी र संसदमा नेकपाको आधिकारिक नेता को हो भन्ने जानकारी जनताले पाउनु पर्ने बताए। ‘सत्ताधारी दल नेकपा थियो। कतिपयले डब्बल नेकपा भन्थे। अहिले पनि उक्त दल डब्बल, सिंगल वा स्क्वाएर के हो टुंगो लगाउने जिम्मा निर्वाचन आयोगको हो,’ उनले भने। संसद विघटनको निर्णय बदर भएसँगै सबैको चासो अब संसदभित्र कांग्रेसको भूमिका कस्तो रहन्छ भनि चासोका साथ हेरिएको भएपनि कांग्रेसलाई जनताले आफ्नै बलमा सरकार बनाउने मत नदिएको उनले बताए। साथै उनले संसदमा रहेका अन्य दलहरुले अब मुलुक चलाउन सकेनौँ भनि कांग्रेसलाई सरकार चलाउ भने भने त्यतिबेला कांग्रेसले सोच्ने बताए। कतिपय पार्टी नेतादेखि सामाजिक संजाल र मिडियामा संसद पुनस्थापना भएपनि अथवा निर्वाचनमा गएपनि कांग्रेस सभापति शेरबहादुर देउवाको दुबै हातमा लड्डु भनि गरेको आलोचनाप्रति निधिले रुष्टता व्यक्त गरे। ‘कांग्रेसको दुबै हातमा लड्डु भनेर आलोचना भइरहेको छ। के अब एउटा हातको लड्डु फालिदिने कि पत्रकारलाई दिने,’ उनले भने। सर्वोच्च अदालते मंगलबार गरेको निर्णय पश्चात देशको राजनीति संसदको मैदानमा फर्किएको बताउँदै लिकमा फकिएको संविधानसँगै लिक जोगाउन सबै पार्टी र नेताहरुले देश र जनताप्रति जिम्मेवार भएर अघि बढ्नु पर्ने सुझाव दिए। उक्त कार्यक्रममा जीवनभर गान्धीवादी सिद्धान्तका आधारमा सत्यग्रह र शान्तिपूर्ण आन्दोलनमार्फत राजनीतिक परिवर्तनको पक्षपाती नेताका रुपमा परिचित महेन्द्रनारायण निधिकै सिद्धान्त अनुरुप ०४६ साल र ०६२/०६३ सालको राजनीतिक परिवर्तन सम्भव भएको उनले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update