हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम सम्बन्धि विवादमा परेको मुद्दाको फैसला फेरि अन्यौलमा परेको छ। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ पार्टी एकीकरण गर्दै निर्वाचन आयोगले नयाँ नाम दिनुको सट्टा पहिले नै आयोगमा दर्ता भएको ऋषि कट्टेलको नेकपासँगै नाम जुधाएर दिएपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको फैसला पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण प्रभावित भएको हो। कट्टेलले दर्ता गरेको रिट निवेदनमाथि भएको बहस सकिएपछि फागुन १३ गते न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाई फागुन २० गते बिहिबार गर्ने निर्णय गरेको थियो। तर, अचानक पूर्व प्रधानन्यायाधीश सिंहको मंगलबार निधन भएपछि बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहितका सबै न्यायाधीशहरुको पूर्ण बैठकले सिंहको निधनप्रति शोक व्यक्त गर्न बिहिबार एक दिन देशभरीकै सबै अदालत बन्द गरी शोक विदा दिने घोषणा गरेको हो। अदालतको उक्त निर्णयले भोलिका लागि फैसलाको मिति तय गरिएको नेकपाको नाम सम्बन्धि विवादको फैसला फेरि पर धकेलिएको हो। तत्कालिन समयमा नेकपाका द्वितीय अध्यक्ष पुष्कमल दाहालको चाहना बमोजिम तत्कालिन प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्थालाई वेवास्था गर्दै कट्टेलको नेकपासँगै बाझिनेगरी ब्राकेटमा (ने.क.पा.) लेखेर दल दर्ताको प्रमाणपत्र दिएका थिए। तर, पछिल्लो समय सत्तारुढ नेकपाभित्रको शक्तिसंघर्षले राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा एउटै रहेको नेकपाको नाम र भविश्यसँगै पार्टी विभाजन हुने वा नहुने लगायतको विषयले उक्त मुद्दा थप महत्वको विषय बन्न पुगेको थियो। अचानक शोक विदाका कारण प्रभावित भएको फैसलाको विषयमा अब अदालतले शुक्रबार नयाँ तारिकसहित फैसलाको मिति तय गरेपछि मात्रै उक्त विषय टुंगो लाग्ने भएको छ। यसरी अदालतको फैसला आउन ढिलाई हुँदा संवैधानिक इजलासकोे फागुन ११ गतेको आदेशपछि विघटन हुनबाट बचेपछि फागुन २३ गते बस्न लागेको प्रतिनिधि सभा बैठकमा नेकपाको विभाजन सम्बन्धि विषयले थप अन्यौलता बढाउने सम्भावना बढेको हो। अहिले पनि दुई खेमामा विभाजित नेकपाको आधिकारिकताबारे आयोगले पनि कुनै टुंगो लगाउन नसक्दा संसदको अधिवेशन समेत प्रभावित हुने देखिएको छ।  
प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update