हिमाल दैनिक
निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग रुपमा कायमै रहने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको भन्दै दुई पार्टी अलग–अलग रुपमा कायमै रहेको निष्कर्ष आयोगको रहेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आआफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित एकीकरणपछि बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन दुवै पक्षलाई पत्राचार गरिएको उनले बताए । सर्वोच्च अदालतबाट यही फागुन २३ गते भएको आदेश÷फैसला कार्यान्वयन गर्ने गराउने सम्बन्धमा मंगलबार आयोगको बैठक बसेको थियो । दुई दलबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएको बारे नेपाल राजपत्र मा २०७५ जेठ २३ गते प्रकाशन भएको सूचना सो राजपत्रबाट खारेज गर्न र सोको सूचना नेपाल राजपत्रमै प्रकाशन गर्न पनि बैठकले सरकारसँग अनुरोध गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update