नेपाली कांग्रेस केन्द्रीय महिला विभागको दुइदिने वागमती प्रदेशस्तरीय महिला भेला तथा प्रशिक्षण कार्यक्रम पाँच बुँदे घोषणपत्र जारी गर्दै सकिएको छ।
पार्टी केन्द्रीय सदस्य तथा विभाग प्रमुख ईश्वरी न्यौपानेको नेतृत्वमा रहेको महिला विभागले शनिबार र आइतबार पार्टी मुख्यालय सानेपामा आयोजना गरेको प्रशिक्षण कार्यक्रम तथा भेलाले पार्टीको केन्द्रदेखि वडा तहसम्म सहानुभूतिको निम्ति मात्र महिलाको प्रतिनिधित्व गराउने भन्दा हरेक निकायमा नेतृत्व तहमा नै महिलाको अनिवार्य उपस्थितिको लागि हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने निश्कर्ष निकालेको छ।
विभागकी सचिव लक्ष्मी खतिवडाद्वारा आइतबार जारी विज्ञप्ति अनुसार, सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गर्दै पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गरेको हो।
त्यसैगरी कांग्रेसको वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने माग पनि भेलाले गरेको छ।
बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुमा संलग्न अपराधिहरुलाई कानूनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधिहरु राज्यबाट नै संरक्षित भएको आरोप लगाउँदै महिला विभागले महिला हिंसामा दण्डहिनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानूनको कठोर कार्यान्वयनका लागि पनि जोडदार माग गरेको छ।
बालिकाहरुलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिताका लागि पनि महिला विभाग माग गरेको विज्ञप्तिमा उल्लेख छ।
महिलाको प्रजनन र प्रसुती स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्ण रुपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चिता गर्न तथा वर्थिङ सेन्टरहरुलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्नका पनि भेलाले सरोकारवाला निकायसँग माग गरेको छ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय