हिमाल दैनिक
संसद विघटन गरेर सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गर्यो: कांग्रेस
deuba-ramchandra
प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले संसद विघटन गरेर मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम भएको निष्कर्ष निकालेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठकले सरकारले गरेको सो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम भएको निष्कर्ष निकालेको हो । सो घटना नेकपा सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य भएको कांग्रेसले जनाएको छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता भएको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । त्यस्तै सरकारले संवैधानिक निकायमा गरेको नियुक्तको अपारदर्शी भएको भन्दै तत्काल फिर्ता लिन आग्रह गरिएको उनले बताए । पछिल्लो घटनाक्रम र थप रणनीति बनाउन कांग्रेस पुष ७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय पनि गरेको छ । मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो-याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता कांग्रेसले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update