हिमाल दैनिक
ओलीलाई हटाएर नेपाललाई दिइयो अध्यक्ष पद
nekapa-nepal-dahal
नेकपाभित्रको प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ । मंगलबार काठमाडौंमा बसेको सो समूहको बैठकले ओलीलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो । ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र, पार्टी एकताको विरुद्धमा कार्य गरेकाले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेकाले पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको नेकपाले जनाएको छ । त्यस्तै बैठकले नेकपाको अध्यक्ष पदमा नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव नेकपा बरिष्ठ नेता झलनाथ खनालले गरेको नेकपा नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले नेता कृष्णबहादुर महरालाई स्थायी कमिटी बैठकमा मनोनीत गर्ने स्थायी कमिटीको प्रस्तावलाई पनि अनुमोदन गरेको छ । बैठकले संसद विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश र स्वेच्छाचारी भन्दै भर्त्सना र अस्वीकार गर्ने निर्णय गर्दै आन्दोलन गर्ने निर्णय गरेका श्रेष्ठले बताए । बैठकले नेकपाको कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको श्रेष्ठले बताए । केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार साढे ११ बजे बोलाएको श्रेष्ठले बताए । उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ जना सहभागी भएका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update