हिमाल दैनिक
संसद विघटनविरुद्ध दाहाल-नेपाल समूहले गर्यो पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा
dahal-nepal-karyasamiti-baithak
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधव नेपाल समूहले संसद बिघटनबिरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । साथै बैठकले संघर्षका कार्यक्रम पनि तय गरेको छ । बिहीबार काठमाडौंको एक पार्टी प्यालेशमा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले संसद बिघटन गर्ने निर्णय संविधान बिपरित भएको भन्दै संघर्षका कार्यक्रम तय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय कमिटी समेत बनाएको छ । पार्टी संगठन विरुद्ध रहेका गतिविधिका विरुद्ध पार्टी एकतालाई थप बलियो बनाउनका लागि तथा प्रतिनिधिसभाको विघटनको कथित निर्णय विरुद्ध पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको श्रेष्ठले बताए । बैठकले शुक्रबार निर्बाचन आयोगमा केन्द्रीय कमिटीका सदस्य तथा संसदहरु सहभागी कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै पुष १४ गते राजधानीसहित जिल्ला जिल्लामा विरोध प्रदर्शन गरिने, २५ गते सम्म सबै वडाहरुमा भेला आयोजना गर्ने निर्णय बैठकले गरेको श्रेष्ठले बताए । यसैबीच बैठकले महासचिवको चयनको जिम्मा स्थायी कमिटीलाई दिएको छ । त्यस्तै केन्द्रीय कमिटी, स्थायी कमिटी र जिल्ला कमिटीमा रिक्त सदस्यको मनोनयनको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ । बैठकमा प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई सम्झेर अहिलेको घटनाक्रमलाई तिनकै पुनरावृत्ति भनेर ठान्ने गल्ती गर्न नहुने बताएका थिए ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update