हिमाल दैनिक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले जालझेल गरी प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गरेरै छोड्ने दाबी गरे । उनले प्रतिनिधि सभा विघटन हुनु इतिहासकै कालो दिन भएको भन्दै निरङ्कुश कदमविरुद्ध डटेर लड्ने बताए । प्रचण्डले आन्दोलनको पहिलो चरणबाट सकारात्मक परिणाम नआएमा गम्भीर खालको आन्दोलन गर्ने पनि बताए । यस्तै उनले लामो सङ्घर्ष र हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको रक्षा गर्ने दायित्व आएको बताए । प्रतिनिधि सभा भङ्ग भएको विषय सर्वोच्च अदालतसम्म पुगेको र आफूलाई न्यायालयप्रति भरोसा भएको पनि बताए । उनले अदालतले सरकारको विपक्षमा नै फैसला सुनाउने विश्वाससमेत व्यक्त गरे । उनले पार्टीको बारेमा पनि प्रश्न उठेको भन्दै पार्टीमा ४४१ जना केन्द्रीय सदस्यहरू रहेको र २९५ जना केसका हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको जिकिर गरे । प्रधानमन्त्री केपी ओली संघीयता र गणतन्त्र विरोधी रहेकाले उनले संविधान र गणतन्त्रकै हत्या गर्न लागेको आरोप उनले लगाए । अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा ओली बयलगाडाको कथा सुनाएर बसेको सबैले सुनेको भन्दै आन्दोलन सफल भएपछि गणतन्त्र स्वीकारेकाले ओलीलाई विश्वास गरेर प्रधानमन्त्री बनाएको तर्क गरे । पत्रकार स्म्मेलनमा अर्का अध्यक्ष माधवकुमार नेपालले प्रचण्ड र आफुबीचको सहमति बन्नुमा मुल कुरा कम्युनिस्ट आन्दोलनको विचार, नीति विधि र पद्दतिलाई समातेर अघि बढ्नेमा विचार मिलेको बताए । नेपालले नेपाल कम्युनिष्ट पार्टी नेकपाको सम्पत्ति आफूहरूको भएको दावी पनि गरे । त्यस्तै बरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड र माधव नेपाल बराबर हैसियतका अध्यक्ष बनेको बताए । खनालले पार्टी काम र योगदानका आधारमा कोही वरिष्ठ भए पनि अध्यक्ष पदमा जो हुन्छ उही माथि हुने प्रष्ट पारे । त्यस्तै खनालले ओलीको प्रवृति गोमन साप जस्तै रहेको भन्दै यस्तै प्रवृतिले समस्या पैदा भएको तर्क गरे ।
प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update