हिमाल दैनिक
दाहाल-नेपाल पक्षले आफुहरुको आधिकारिकता आयोगलाई पुष्टि गर्ने
nekapa-paris-dada
नेकपा प्रचण्ड–नेपाल पक्षले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले आफूहरु नै आधिकारिक पार्टी भएको दावी गर्दै यस बिषयमा आयोगमा लिखित पत्र पठाउने निर्णय गरेको हो । यसअघि आयोगले पठाएको पत्र प्राप्त भएको भन्दै फेरि पनि सबै आन्तरिक विषय खुलाएर आयोगलाई आधिकारिकता दिनका लागि पत्र लेख्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बिधानअनुसार नै पार्टीको बैठक बसेको र सो को आधारमा पदाधिकारी हेरेफेर गरेको बिषयमा आयोगबाट पत्र प्राप्त भएकाले लिखित जवाफ सहित आयोगलाई पत्र लेख्ने निर्णय भएको उनले बताए । केन्द्रीय समिति बैठकले यसअघि नै अध्यक्षबाट हटाइएका केपी ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट बर्खास्त गर्ने प्रस्ताव अनुमोदन गरेको छ भने महासचिव विष्णु पौडेललाई पनि जिम्मेवारीबाट हटाएको छ । बैठकले प्रधानमन्त्री ओलीको कदमको विरोधमा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन पनि दिएको छ भने म्यानमारमा भएको सैन्य कुको विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतलाई रिहा गर्न पनि बैठकले माग गरेको प्रवक्ता श्रेष्ठले बताए । बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अन्य दलहरुसमेत एक ठाँउमा आउने अवस्था बन्दै गएको र ओली पक्षलाई आन्दोलनबाट धरासायी बनाउने सहमति हुन थालेको बताएका थिए । नेकपाका दुवै समूहको आधिकारिता अस्वीकार गर्ने माघ ११ को निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको प्रचण्डले बताएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update