हिमाल दैनिक
दुई वर्ष प्रधानमन्त्री बन्ने प्रस्ताव लिएर देउवासमक्ष माधव नेपाल ल्याप्चे लगाउन पुगेछन: प्रम ओली
pradhanmantri-kp-sharma-oli-pm
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ल्याप्चे लगाउन आफ्नै दलका नेताहरु गएको आरोप लगाएका छन् । बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन् । 'अस्ती माधव नेपाल १८ गते शेरबहादुर देउवाजीकहाँ गएका थिए। रामका अगाडि हनुमान घुँडा टेकेर प्रणाम गर्छन् नि, हो त्यसरी बसेका थिए,’ उनले भने, 'उनले दुई वर्षका लागि तपाईं नै प्रधानमन्त्री हुनु हामी सही गरिदिन्छौँ भन्दै सहयोग मागेछन्।' ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै उनले भने 'देउवासामू घुँडा टेकेर, प्रधानमन्त्री पद लिखित रूपमै दिन्छु भनेर, ल्याप्चे लाउँछु भनेर हिँडिरहनुभएको छ, उहाँहरुको भित्री आशय जे छ अहिले त्यही प्रकट हुँदैछ। अब उहाँहरुको मुकुण्डो खुइलियो। अब तपाईं हामी सही ढंगले सचेत बाटोमा अघि बढ्छौँ।' प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा छँदासम्म भूमिहीन सुकुम्वासीहरूको समस्या समाधान गर्न अवरोध गरेको आरोप लगाए । ‘सुकुम्बासी समस्या समाधान हुन नदिने नेताहरु मध्येको मुख्य नेता को हो ? माधव नेपाल । बनेको आयोगलाई काम गर्न नदिएर एउटा नवलपरासीको सुकुम्बासी मानसिकताको वकिलले मुद्धा हालेर त्यो आयोगले काम गर्न पाएन’ ओलीले भने । उनले अव मुलुकमा भेदभाव र पक्षपात अन्तय गरिने भन्दै सुकुम्वासीहरूको समस्या समाधान गर्ने आश्वासन दिए । त्यस्तै नेकपा ओली पक्षका नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड–नेपाल पक्ष पार्टी रक्षाको पक्षमा नभइ ओलीलाई देखाएर जनमत हत्याउने प्रयासमा रहेको बताए । उनले प्रधानमन्त्रीलाई सरकार र पार्टीमा काम गर्न नदिएकै कारण ताजा जनादेशमा जाने निर्णय गरिएको धारणा राखे । कार्यक्रममा सहभागी नेकपा ओली पक्षका नेताहरुले मुलुकलाई स्थीरता र बिकासको बाटो तर्फ अघि बढाउन निर्वाचनमा जोड दिएको र जनताले आफुहरुलाई बहुमतका साथ बिजयी गराउने बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update