काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्याष लिनुपर्ने अवस्था छ । अलिकति पनि ईज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिएपनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?’–श्रेष्ठको प्रश्न छ ।
प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने,‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’
उनले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि सुनाए । कांग्रेस, नेकपा दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेद्धवारको नाम अघि बढ्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने ‘तीन दल हुन्छ कि कांग्रेस र नेकपामात्रै हुन्छ ? यो टुँग्गिएको छैन् । नेकपाको आन्तरिक विभाजन जो छ, कानूनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाहीँ प्राकृतिक हुनुपर्छ । अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जानेखालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समिक्षा गरौं । नयाँ आधारहरु कसरी बन्छ ? अनि मात्रै तय हुन्छ ।’
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले सुनाए ।
श्रेष्ठले यसअघि नै संसदमा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिज्ञासा राखेको पनि सुनाए । जवाफमा दाहाल–नेपालले हिजोमात्रै नेपाली कांग्रेससँग वार्ता गरेको सुनाएका थिए । दाहाल–नेपालले भनेको कुरा सुनाउँदै उनले भने,‘हिजोको परिस्थितिमा समस्या टार्नको लागि, ओलीजीको कदम रोक्न त्यो कदम चाल्यौं । तर, उहाँहरुले संसद् विघटन गर्नुभयो । आजको नयाँ परिस्थितिमा तीन वटा पार्टी हामी, कांग्रेस र तपाईँहरु बसौं, जसको नाममा सहमति हुन्छ, त्यसलाई वैकल्पिक प्रधानमन्त्री सहित नयाँ प्रस्ताव दर्ता गर्न सकिन्छ ।’ उनले अहिले नै को प्रधानमन्त्री बन्छ ? भनेर न्वारान गर्ने बेला भैनसकेको पनि टिप्पणी गरे ।
उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे । श्रेष्ठले भने,‘पहिला बच्चा जन्मनुपर्यो । अनिमात्रै न्वारान हुन्छ । कसको समिकरण बन्छ ? भन्ने कुरा बाहिर आउनुपर्छ । नेकपा राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा विभाजन भएको छैन् । अहिले बहुमतको विपक्ष भैरहेको छ । यो अवस्था सिर्जना भैरहेको छ । कानूनी रुपमा पनि मान्यता प्राप्व्त हुनुपर्छ । औपचारिक रुपमा विभाजन भएपछि नै प्रक्रिया अघि बढ्छ । अहिले यो कुरा जगजाहेर छ । राजनीतकि रुपमा विभाजन भयो नेकपा । कानूनी रुपमा एउटै छ । विभाजनको प्रक्रिया पूरा भएको छैन् । अनिमात्रै थप छलफल हुन्छ ।’
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उनले उक्त भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि जानकारी दिए । उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे ।
नेकपाको विवाद निर्वाचन आयोगमा रहेको भन्दै उनले औपचारिक रुपमा विभाजन भएपछि नै अन्य प्रक्रिया अघि बढ्ने धारणा राखे ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय