नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन् । आइतबार साक्षात्कारमा बोल्दै नेता रावलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको टिप्पणी गरेका हुन् ।
उनलेले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए । उनले भने,‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ । तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो । केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन् ।’
उनले लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न रहेको बताए । देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? भनेर नेताले जिज्ञासा राखे। उनले भने,' उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’
उनले बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुने बताउदै पार्टीको विधान र संसदीय दलको विधानबाहेक अरुको कुरा स्थापित नहुने बताए।
त्यस्तै नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले हिजो क्लबकै साक्षात्कारमा पार्टीको ह्विप नमान्नेलाई कारबाही गरिने भनेर दिएको चेतावनीमा रावलले आपत्ति जनाएका छन् । उनले भने,‘हिजोसम्म कारबाही नगरेको एक जना सांसदले अरुलाई कारबाही गर्ने कुरा गरेछन्, बरु तीनलाई हाम्रो केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ । हामीसँग बहुमत छ भनेर देखाउन यस्तो भ्रम फैलाए ।’
प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल, नागरिक समाज, बुद्धिजिवी आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने पनि उनले बताए । ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको भनाई छ । उनले अहिले ओलीले नेतृत्व गरेको पार्टी नै नभएको भन्दै गुटको संज्ञा दिए ।
रावलले अब को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए । उनले भने,‘प्रधानमन्त्री को हुन्छ ? भन्ने हाम्रो विषय होईन् । सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ । हामीलाई मन्त्री हुने, प्रधानमनत्री हुने हतारो छैन् । कानून हाम्रो पक्षमा छ । हामीले हतारो नगरेको हो । राष्ट्रिय हितलाई माथि राख्नुपर्यो । अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो ।’
प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाई छ । त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौं भनेर नभनेको सुनाउँदै रावलले भने,‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौं भनेर दाबी गर्नुभएको छैन् । सहमतिबाट जो पनि बन्ने भयो । संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ ।’
रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए । उनले भने,‘अहिले प्रधानमन्त्रीमाथिको प्रसँग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दापनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो । यो त उहाँले लल्कार्ने काम हो ।’
उनले देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमानभएको बताए । उनले भने, 'लोकतन्त्रको अपमान हो । हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन् । तर, ओलीको दिमाग नै त्यस्तो छ ।’
रावलले आफ्नो पक्षसँग स्पष्ट बहुमत रहेको दाबी गरे । उनले भने,‘नेकपामा सांसदहरु १६९ हो, त्यसमा बहुमत हुनलाई जति चाहिन्छ, त्यति हामीसँग छ ।’ उनले दलको आधिकारिकता दिन निर्वाचन आयोगले ढिलाई गरेकोमा गुनासो पोखे । उनले भने,‘आयोगले ढिलाई नगरे हुन्छ । कानूनको आधारमा निर्णय गर्नुपर्छ । आयोगले विलम्ब गर्नु भनेको दुःखद् कुरा हो । बहुमत हुनेले निर्णय गर्ने कुरा नै आधिकारिकता हो ।’
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय