सत्ता समीकरणका बिषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा सरकार निर्माणका बिषय र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको हो । प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा छलफल केन्द्रीत रहेको नेताहरुले बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठन र आफुहरुको मागका बारेमा कुराकानी भएको बताए । आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा समर्थन गरे माओवादीसंग सहकार्य हुन सक्ने उनले बताए ।
त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले जसपासँग केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डामा कुराकानी भएको बताए । त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएको बताए । वार्तालाई सार्थकता तुलाउन आफ्नो पार्टी र अन्य दलहरुसंग पनि निरन्तर छलफल गरिने उनको भनाई छ ।
दुई दलबीचको छलफल संयुक्त सरकार गठन गर्ने र जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने बिषयमा केन्द्रीत रहेको बताइएको छ । माओवादी नेताहरूले तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए । जसपाले यसअघि कांग्रेस र एमालेसंग पनि छलफल गरेको थियो । सरकार गठनमा जसपा निर्णायक भूमिकामा देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय