नेकपा एमाले माधवकुमार नेपाल समूहका नेताहरुले आजदेखि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन् । दुई दिन चल्ने भेलाको सबै तयारी पुरा भईसकेको छ।
मंगलबार नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले पत्रकार सम्मेलन सबै तयारी पुरा भईसकेको जानकारी दिएका थिए ।
तर यस भेलादेखि नेकपा एमालेको संस्थापन पक्ष भने खुसि छैनन्। अझ संस्थापन पक्षले यस भेला गर्ने र भेलामा उपस्थित हुनेलाई अनुशासनको कारबाही गर्ने समेत चेतावनी दिएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले गरेको संसद विगठन गरेसंगै र सर्वाच्चले उक्त निर्णय बदर गरेपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टीभित्र तिक्तता बढेर गएको थियो । पार्टीको फुटको संहारमा रहेको तत्कालिन नेकपालाई सर्वाच्च अदालतले खारेज गरेर एमाले र माओवादी ब्युताईदिएसंगै नेपालमा पछिल्लो राजीनितिक परिवेश परिवर्तन भएको छ ।
एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते नेपाल समूहका केही प्रदेश प्रमुखसमेत ओलीले हटाए र माओवादीका २३ जना सदस्यलाई केन्द्रीय सदस्य मनोनित गरेपछि नेपाल पक्षले पनि त्यसको प्रतिकार गर्दै केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर कमिटी घोषणा गर्ने निर्णय गर्यो । जसअनुसार नेपाल पक्षले प्रदेशमा नेपाल समूहले आफ्नै समानान्तर कमिटी घोषणा गर्यो ।
सोमबार ओली पक्ष र नेपाल पक्षका बीच पार्टी कार्यलय धुम्बाराहीमा छलफल भएको थियो । उक्त छलफलमा नेपाल पक्षले २८ फागुनमा ओलीले एकलौटी निर्णय गर्दै पदाधिकारीहरु खारेज गरेको भन्दै आपत्ति जनाए भने ओली पक्षका नेताहरुले राष्ट्रिय भेला आयोजना नगर्न सुझाव दिए ।
हिजो अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरे। एमालेका ओली निकट नेता कार्यकर्ताको सहभागी थियो भने खनाल र नेपाल पक्षले भने चियापान बहिष्कार गरेको थियो । अझै त्यही समयमा नेपाल पक्षले पत्रकार सम्मेलन गर्दै आज हुने राष्ट्रिय भेलाको बारेमा जानकारी दिए।
चियापान कार्यक्रममा अध्यक्ष ओलीले गुटगत गतिविधि नगर्न माधव कुमार नेपाल र झलनाथ पक्षलाई चेतावनी दिएका थिए । उनले अराजकता, अनुशासनहीनता विधि विधानविपरित, पार्टी एकता विरोधी कुरा मान्य नहुने चेतावनी दिँदै गुटगत गतिविधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए ।
त्यसको जबाफमा नेपाल पक्षका नेता भट्टराईले ओलीलाई आज हुने कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन आग्रह गरे ।यसअघि मंगलबार नै बालुवाटारमा आयोजित चियापानमा ओलीले माधव समूहको भेलामा नजर लगाउने बताएका थिए । नेता भट्टराईले अहिलेको अवस्थामा विवेकसंगत ढंगले अघि बढ्नुपर्ने बेला भएकाले आवेग र उत्तेजनानमा नआउन प्रधानमन्त्रीलाई आग्रह गर्दै त्यस्ता अभिव्यक्तिले दुर्घटना निम्तनेतर्फ सचेत रहन समेत सजग गराए ।
कारबाहीले मुलुक, राजनीति र पार्टी अघि नबढ्ने बताउँदै भट्टराईले मुलुक, संविधान र प्राप्त गरेको जनसमर्थको लागि उभिएकाहरू कारबाहीको लागि लामबद्ध भएको उल्लेख गरे । उनले एकपटक इतिहासमा फर्कन अनुरोध गर्दै ओलीकै कारण पार्टी लथालिङ्ग नहोस् भन्ने आफूहरूको चाहना रहेको उल्लेख गरे ।
साँझ फेरी एमालेका महासचिव ईश्वर पोख्रेलले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको र त्यस्ता भेलामा उपस्थित नहुन निर्देशन दिए। उनले बिज्ञप्तिमा भनेका छन्। ‘अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन, र कसैले बेलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुने नेकपा (एमाले) सबै नेता÷कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ। अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’
आज नेपाल पक्षको यस भेलापछि अध्यक्ष ओलीले नेपाल पक्षलाई के कस्तो कारबाही गर्छन भन्ने कुरा अबको केहि समयमा नै पुष्टि हुनेछ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय