हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओलीसमक्ष लिखित अनुरोध गरेका छन् । शनिबार बालुवाटारमा अध्यक्ष ओलीसंग भेट गर्दै पार्टीभित्र देखिएका समस्या र तत्कालिन राजनीतिक परिस्थितिबारे निक्र्यौलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्शसहित लिखित अनुरोध गरिएको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कोरानाले सिर्जना गरेको संकट सम्बोधन गर्न, स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन प्रक्रिया अगाडि बढन नसकेको स्थितिको समिक्षा तथा पार्टीमा उत्पन्न संकटको बारेमा छलफल गरेर पार्टीको एकताको रक्षा गर्न समयमा नै छलफल आवश्यक रहेकाले तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेको उनले बताए । सो क्रममा अध्यक्ष ओलीले बैठकका बारेमा निष्कर्श नदिएको प्रवक्ताको भनाई छ । पार्टीलाई एकताबद्ध बनाउने, विधि र पद्दतीका आधारमा पार्टी चलाउने र पार्टीको निर्णय सबैले मान्ने अवस्था सिर्जना गरौं भन्नेमा आफुहरुको जोड गरेको उनले बताए । नौ जना सचिवालय सदस्य रहेको नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले तत्काल बैठक बोलाउन माग गरेका हुन् । उनीहरुले शुक्रबार र शनिबार धुम्बराहीस्थित पार्टी कार्यालयमा पछिल्लो विवादका बारेमा छलफल गर्दै अध्यक्ष ओलीलाई बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेका थिए । पार्टी र सरकार संचालनका बिषयमा नेकपाभित्र विवाद रहदै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update