हिमाल दैनिक
दुई अध्यक्षबीच प्रश्न र प्रतिप्रश्नको बैठकमा बिशेष स्थान
EmstpH7VcAAv9-c
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आगामी मार्ग चित्रका लागि भन्दै छुट्टै प्रस्ताव सचिवालय बैठकमा पेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्ताव अध्ययनका लागि सबै सचिवालय सदस्यहरुलाई वितरण समेत गरिएको छ । बैठकमा यसअघि सचिवालय बोलाउन माग गर्दै प्रचण्डसहित ५ सदस्यले अध्यक्ष केपी ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई बितरण गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले पार्टी विवादलाई कार्यसूची नै बनाएर समाधान गर्ने निष्कर्ष निकालेको छ । बैठकमा स्थायी कमिटीको निर्णय कार्यान्वयन, कोभिड उपचार, रोकथाम र नियन्त्रणका प्रयास र पार्टी–सरकार सम्बन्धका विषयमा पनि छलफल भएको श्रेष्ठले बताए । भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि जारी गरिएको आन्तरिक पार्टी निर्देशन पनि सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको उनले जानकारी दिए । नेकपा सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठले पार्टीको विवाद कुनै विदेशी शक्तिको इशारामा नभएको दाबी समेत गरे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update