नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी ओलीले पार्टीभित्र छलफलका लागि छुट्टै्र प्रस्ताव ल्याउने भएको छ ।
बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीभित्र छलफलका लागि छुट्टै प्रस्ताव पेश गर्ने बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् । प्रवक्ता श्रेष्ठले आगामी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा ओलीले आफ्नो प्रस्ताव पेश गर्ने तय भएको र यसअघि नै प्रचण्डले पेश गरेको तथा ओलीले ल्याउने दुबै प्रस्तावमाथि छलफल हुने जानकारी दिए ।
यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले बुहमत सदस्यको समर्थनमा १९ पेज लामो प्रस्ताव पेश गरेपछि ओली पक्ष असन्तुष्ट भएको थियो । प्रस्तावमा पार्टी र सरकार सञ्चालनमा ओली असफल रहेको दाबीसहित निकासका लागि त्याग गर्न माग गरिएको थियो । प्रचण्डले एकलौटी ढंगले गम्भीर आरोपसहित प्रस्ताव पेश गरेको भन्दै ओली पक्षले भने उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताएको थियो । तर, प्रचण्ड प्रस्ताव फिर्ता लिन तयार नभएपछि अध्यक्ष ओलीले पनि आफ्नो प्रस्ताव सचिवालयमा पेश गर्न लागेका हुन् ।
त्यस्तै बैठकले स्थायी कमिटी आह्वान गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार आगामी १८ गते स्थायी कमिटी बैठक बस्नेछ । त्यस्तै यसअघि मंसिर १५ गतेका लागि तय भएको नेकपा केन्द्रीय कमिटि बैठक मंसिर २५ गतेका लागि सारिएको उनले जानकारी दिए । प्रवक्ता श्रेष्ठले पार्टीको संकट र निवारणको सम्बन्धमा सबै प्रस्ताव समेतको आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिने बताए।
त्यस्तै प्रवक्ता श्रेष्ठले पार्टीभित्रको समस्याका बारेमा राष्ट्रपतिले छलफल गर्नुलाई अनर्थ बुझ्न नहुने बताए । त्यस्तै उनले चिनिया राजदूतसंगको भेट र पार्टी विवाद फरक फरक भएको भन्दै बाह्य हस्तक्षेप नभएको स्पष्ट पारे । पार्टी र सरकार सञ्चालनमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेकपाभित्र विवाद हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय