सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर पुस १ सम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बसेको बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक–प्रस्ताव पारित गर्दै स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सांसद एवं पूर्वराजदूत लामाको कोरोना संक्रमणका कारण विहीवार निधन भएको थियो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामा र हाइड्रो पावरको सेयर विवादमा पार्टी प्रवक्तालाई मुछेर अनावश्यक प्रचार गरिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका थिए ।
प्रचण्डले लामा र सम्बन्धित हाइड्रोको व्यक्तिलाई सँगै राखेर आफूले पनि कुरा गरेको र प्रवक्ताले पनि तपाईंहरू मिल्नुस् भन्नेबाहेक अरू कुनै कुरा नगरेकाले भ्रममा नपर्न आग्रह गरेको बैठकपछि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
लामाको निधनपछि उनको परिवारले सेयर विवादसम्बन्धी अडियो भिडियो सार्वजनिक गरेको थियो । त्यसमा प्रवक्ता श्रेष्ठ मध्यस्थकर्ताको भूमिकामा देखिएका थिए । शोक प्रस्ताव पारित भएपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेन । बैठकमा दुई अध्यक्षले आफ्ना प्रस्तावमाथि व्याख्या गर्ने र त्यसपछि सचिवालयका सदस्यहरुले धारणा राख्ने कार्यसूची थियो । यसअघिकै बैठकमा दुई अध्यक्षका प्रस्ताव र पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई वितरण गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय