हिमाल दैनिक
संसद विघटन पुनर्स्थापना हुने सम्भावना नै छैन: प्रधानमन्त्री ओली
pradhanmantri-kepi-sharma-oli
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । बिहीबार बालुवाटारमा नेकपा आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले छिमेकीले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता माग्दा भारतसँग सम्बन्ध बिगारेको आरोप लगाउनेहरुले सरकार ढालेर पार्टी फुटाउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका हुन्। भूमि फिर्ता माग्दा सम्बन्ध बिगारेको, संविधान बनाएबापत नाकाबन्दी लागेको र नाकाबन्दीको सामना गरेबापत आफुलाई घेराबन्दीमा पारिएको उनले बताए । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेलगत्तै ओलीले त्यसप्रति पनि व्यंग्य गरे । उनले आफूसँग मिल्न आए ठाउँँ खाली राखिएको र कसैलाई नहटाइएको बताए। त्यस्तै उनले संसद पुनर्स्थापना गर्ने कुनै बहाना नरहेको र बहुमत प्राप्त सरकारले गरेको संसद बिघटन पुनर्स्थापना हुने सम्भावना नरहेको धारणा पनि राखे । प्रधानमन्त्री ओलीले अव आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने धारणा राखे । कार्यक्रममा नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि बताए । थापाले चुनावमा गएर विभाजनकारी, अवसरवादी र प्रतिगमनकारीलाई परास्त गरिने बताए । नेता थापाले आफूले कम्युनिष्ट आन्दोलनको एकता, मुलुकमा स्थायित्व र शान्ति तथा राष्ट्रिय हितका पक्षमा अग्रमोर्चामा रहेर भूमिका खेलेको नेतृत्वलाई साथ दिने स्पष्ट गरे । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो । बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको सो समूह नेकपाका महासचिव बिष्णु पौडेलले जानकारी दिए । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको पौडेलले बताए । त्यस्तै प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले संसद बिघटनको निर्णयको स्वागत गर्दे निर्वाचनको तयारीमा जुट्न कार्यकतालाई निर्देशन दिएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update