नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको विभाजनपछि दुई ध्रुबमा बाँडिएको नेकपामा को शक्तिशाली हुने भन्ने होडबाजी चलिरहेकै बेला प्रधानमन्त्री ओलीले झण्डै तीन दशकदेखि अर्का अध्यक्ष पुष्पकमल दाहालको सहयोगीका रुपमा राजनीतिमा क्रियाशील रहँदै आएका टोपबहादुर रायमाझी र प्रभु साहका अतिरिक्त पूर्व माओवादी नेता मणि थापा, गौरीशंकर चौधरी लगायतका नव नियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्।
पर्यटनमन्त्री भानुभक्त ढकाल:
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । मन्त्री ढकालले सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए । स्वाभिमान र इमानलाई बन्दक राखेर अतिरिक्त सुविधा र पैसा कमाउनु आफ्नो राजनीतिक उद्देश्य नरहेकाले मन्त्रालयभित्रका विकास योजना आर्थिक मितव्ययी र पारदर्शी ढङ्गले अघि बढाइनुपर्नेमा उनले जोड दिए । उनले पर्यटन मन्त्रालय मातहत ठूला क्षेत्र, धेरै ठाउँमा थला पर्दै, पारिँदै आएकाले कसरी समाधान गर्ने भन्ने चुनौती रहेको उल्लेख गर्दै सरोकारवालासँग समन्वयात्मक ढङ्गले काम गर्दा नै सफलता हासिल हुने विश्वास व्यक्त गरे । आफु स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहदा शक्तिशाली विकसित ठूला राष्ट्रले दिन नसकेको स्वास्थ्य सेवा जनतालाई दिलाउन सफल भएको दावी गरे । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री ढकाल पर्यटनमन्त्री बनेका हुन् ।खानेपानी मन्त्री मणि थापा:
नवनियुक्त खानेपानी मन्त्री मणि थापाले स्थायी सरकार निर्वाचनका लागि सरकारले जनमतमा जाने निर्णय गरेको बताएका छन् । सिंहदरबारमा आइतबार पदभार ग्रहण गर्दै मन्त्री थापाले सरकारको एकमात्र ध्यान प्रतिनिधि सभाको चुनाव भएको समेत बताए । मन्त्री थापाले खानेपानी र सरसफाइ क्षेत्रको क्षेत्रलाई देखिने परिवर्तन गर्ने जिकिर गरे । मन्त्रालयमा रहेसम्म कर्मचारीलाई साथ लिएर काम गर्ने भन्दै उनले काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने उल्लेख गरे । मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ:
शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले देशको विकास र स्वाभिमान बढाउने शिक्षा प्रणालीतर्फ आफूहरु केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा पदबहालीपछि आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले जापान, जर्मनी, बेलायत, चीन, दक्षिण कोरिया आदि मुलुकको उदाहरण दिँदै कुनै पनि मुलुकको विकास र प्रगतिमा शिक्षाको गुणस्तर पहिलो शर्त हुने भएकाले मेधावी विद्यार्थी र जनशक्तिलाई स्वदेशमै राख्ने सक्ने वातावरण बनाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले कतै नपाएपछि शिक्षक हुने प्रवृत्ति अन्त्यका लागि गम्भीर हुनैपर्ने बताए । मन्त्री श्रेष्ठले एक्काइसौँ शताब्दीको विज्ञान र प्रविधिअनुकूल शिक्षाको विकासका लागि दूरगामी योजनाका साथ आफूले इमान्दार भएर काम गर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक रहेको बताए । आफू नेकपाको नेता भए पनि मन्त्री हुँदा देश र जनताको हितलाई प्राथमिकता दिने प्रतिज्ञा गर्दै उनले सबै राष्ट्रसेवक कर्मचारीलाई राजनीतिको झोला मन्त्रालय परिसर बाहिरै राख्न निर्देशन दिए । मन्त्री श्रेष्ठले अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा भएका राम्रा कामको निरन्तरता हुने र अपूरा तथा गलत कामलाई सुधार गरिने बताए । सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका केही सदस्यले आयोगको प्रतिवेदन आफूखुशी सार्वजनिक गरेको तर्फ लक्ष्य गर्दै उनले त्यस्ता काम आफूबाट नहुने बताए ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी:
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले देशको विकास र समृद्धिलाई अगाडि बढाउन ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री रायमाझीले ऊर्जामा अझै पनि आत्मनिर्भर हुननसकेपछि पनि निर्यातको क्षेत्रमा अगाडि बढिरहेको भन्दै ऊर्जा क्षेत्रका सम्भावनालाई अगाडि बढाउनुपर्ने बताएका हुन् । मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री रायमाझीले आगामी दिनमा ऊर्जा उत्पादन र खपत बढाउँदै जाने योजना सुनाए । उनले मिलेनियन च्यालेन्ज कर्पोरेसन एमसिसी सँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । उनले सिँचाइको क्षेत्रका सम्भावनालाई केलाउँदै योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले मुलुक अप्ठेरो अवस्थामा रहेको भन्दै बिकासको बाटोमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले:
नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताएका छन् । आइतबार मन्त्रालयमा पद बहालीका क्रममा उनले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिए । मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको आँैल्याउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने बताए । मन्त्रालयका काम कारवाहीमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले एक परिवारसरह काम गर्न निर्देशन दिए । उनले विकास र वातावरणबीच सन्तुलन गरी विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री आलेले सरकारले मध्यावधि निर्वाचन घोषणा गरिसकेका कारण आफ्नो कार्यकाल छोटो रहेकाले दु्रत गतिमा काम गर्नुपर्ने बताउँदै यसमा सबै कर्मचारीको सहयोगको अपेक्षासमेत गरे । पदभार ग्रहण गर्दै मन्त्री आलेले आर्थिक अनुशासन मितव्ययितासम्बन्धी र वेरुजु फछ्र्यौटको कार्ययोजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।सहरी विकास मन्त्री प्रभु साह:
नवनियुक्त सहरी विकास मन्त्री प्रभु साहले निर्वाचन केन्द्रित कामलाई प्राथमिकतामा राख्ने बताएका छन् । आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको भन्दै त्यसैमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताएका हुन् । उनले यस आर्थिक बर्षको बजेटका आधारमा कार्यक्रम र योजना बनिसकेको भन्दै त्यसलाई कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता पनि जनाए । त्यस्तै कोरोना महामारीलाई नियन्त्रण गर्दै मुलुकलाई बिकासको बाटोमा अघि बढाइने उनले बताए । मन्त्री साहले सरकारको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने उल्लेख गरे ।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी:
नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बैदेशिक रोजगारको क्षेत्रमा समस्या देखिएको भन्दै यसको समस्या गर्ने प्रतिवद्धता जनाएका हुन् । मन्त्री चौधरीले वैदेशिक रोजगारीमा ठगीको समस्यालाई सम्बोधन गर्ने बताए । उनले विदेश जाने युवालाई नेपालमै रोजगारी दिने गरी मन्त्रालयले काम गर्ने धारणा राखे । कोरोना विश्वकै समस्या भएकाले विश्वमा नै रोजगारीबाट वञ्चित हुने समस्या आएकाले नेपालमै रोजगारी सिर्जना गर्न प्रयास गर्ने उनको भनाई छ । मन्त्री चौधरीले भर्खर प्रवेश भएकोले हाल भए÷गरेका कामहरुबारे छलफल र अध्ययन गरी त्यसपछि कसरी अगाडि बढ्ने भनेर योजना बनाउने उल्लेख गरे ।युवा तथा खेलकुदमन्त्री दावा लामा:
नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् । शुक्रबार मन्त्रीको सपथ लिएका लामाले आइतबार सिंहदरबार पुगी पदभार ग्रहण गरेका हुन् । पदभार कार्यक्रममा मन्त्री लामाले युवा तथा खेलकुद क्षेत्रको बिकासका लागि भूमिका निर्वाह गर्ने बताए । उनले आफ्नो कार्यकालमा परिणाममुखी योजनाका साथ काम गर्ने धारणा पनि राखे । मन्त्री लामाले खेल क्षेत्रको यसअघिको कार्ययोजनालाई पनि आफुले प्राथमिकतामा राख्ने भन्दै सवैको सहयोगको अपेक्षा गरेको धारणा राखे । त्यसअघि मन्त्रालयमा निवर्तमान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई विदाई गरिएको थियो । विदाइ कार्यक्रममा विश्वकर्माले खेल क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । उनले पहिलोको अवस्थामा भन्दा अहिले नेपालमा खेल क्षेत्रमा महत्वपूर्ण परिवर्तन भएको धारणा पनि राखे । विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल लगाएतले विदाई गरेका थिए ।प्रकाशित मिति: शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय