अनेरास्वबियू केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनको निर्णयलाई बाध्यात्मक कदमका रुपमा ग्रहण गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा पौष १२ गते सम्पन्न भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्वबियू) केन्द्रिय कमिटिको दोस्रो पूर्ण बैठकले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई पार्टीको केही नेताहरुबाट आफ्ना नीहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग,घेराबन्दी र षड्यन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाँउमा जान नदिन गरिएको बाध्यात्मक कदमका रुपमा ग्रहण गर्ने निर्णय गरेको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।
त्यस्तै बैठकले अनेरास्ववियूको विधान संसोधन गरी ३३५ जनाको केन्द्रीय कमिटीलाई बिस्तार गरी १ हजार ९९ सदस्यीय हुने व्यवस्था गरेको छ । अनेरास्वबियूको २०७६ साल पौष २७ र २८ गते सम्पन्न प्रथम बैठकबाट पारित भई लागू भएको अन्तरिम विधान २०७६ को भाग ९ धारा ४७ मा व्यवस्था भए बमोजिम विधानको धारा १५ संसोधन गरी अनेरास्वबियूको ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई बिस्तार गरी १ हजार ९९ सदस्यीय हुने व्यवस्था गरिएको संयोजक महरले जानकारी दिए ।
बैठकले कोरोना महामारीका कारण लामो समयदेखि अवरुद्ध शिक्षा प्रणाली, शैक्षिक सत्र, परीक्षा र पठनपाठन तत्काल सुरु गर्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्ने निर्णय भएको उनको भनाई छ । स्ववियू निर्वाचन आगामी फागुन १४ गते देशैभर एकसाथ सबै विश्वविद्यालयमा गर्ने वातावरण बनाउन सरकार र विश्वविद्यालयको ध्यानाकर्षण गराएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय