नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले जनताका सपनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाले बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा प्रचण्डले प्रधानमन्त्री ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको समेत आरोप लगाए । प्रचण्डले केही महिनाभित्र, केही महिनाभित्र ओलीको स्वेच्छाचारिता अन्त्य हुने र नेपाली जनता विजयी हुने बताए ।
आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको उनले बताए । पार्टी एकताको तीन वर्ष नपुग्दै ओली एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढेको प्रचण्डको भनाई छ । ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उनले बताए ।
सभालाई सम्बोधन गर्दै नेकपा सो पक्षका नेता घनश्याम भुषालले नेकपा र सरकारलाई कब्जा गर्ने काम प्रधानमन्त्रीले गरेको बताए । उनले पार्टी समृद्ध र समाजवादको बाटोमा हिड्न नसकेको आरोप लगाए ।
त्यस्तै अन्य वक्ताहरुले पार्टी र संसदमा अल्पमतमा परेकाले प्रधानमन्त्रीले संविधान बिपरित संसद बिघटन गरेको आरोप लगाएका थिए ।
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय