प्रतिनिधिसभा बिघटन बिरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले बिहिबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाडामाा बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले बिहीबार आमहड्ताल आह्वान गरिएको जानकारी दिईन ।
भुसालले विद्यालय, कारखाना, सार्वजनिक क्षेत्र र यातायात पनि ठप्प पारिने बताईन । त्यस्तै यसअघि तय भएको परिक्षालाई भने नरोकिने उनले जानकारी दिईन ।
काम चलाउ बनिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै देशव्यापी आमहड्तालको घोषणा गरिएको उनले जानकारी दिईन । संबिधान मिच्दै संसद बिघटन गरेका प्रधानमन्त्रीले पछिल्लो समय थप संविधानमाथि प्रहार हुने काम गरेकाले कडा संघर्षमा जाने निर्णय भएको उनले बताईन ।
पत्रकार सम्मेलनमा केन्द्रीय संघर्ष समितिका संयोजक एव नेकपा प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाए ।
श्रेष्ठले सरकारको फासीवादविरुद्ध सशक्त आन्दोलन गर्न आवश्यक रहेकाले बाध्यतावश आमहड्ताल घोषणा गर्नुपरेको बताए । आफूहरु शान्तिपूर्ण आन्दोलनको पक्षमा रहेको भन्दै प्रतिनिधि सभा विघटनविरुद्ध मुलुक आन्दोलनमा होमिएका बेला पुनः संवैधानिक नियुक्ति गरेर सरकारले संविधान र लोकतान्त्रमाथि प्रहार गरेको उनले बताए । श्रेष्ठले प्रधानमन्त्री ओली समूहको २३ गतेको आमसभासँग आफ्नो पार्टीले घोषणा गरेको आमहड्तालको कुनै सम्बन्ध नभएको तर्क गरे ।
उनले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको जानकारी दिए । श्रेष्ठले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताए ।
प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय