हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन तयारीको कामलाई निरन्तर अगाडि बढाउन निर्वाचन आयोगलाइ सुझाव दिएका छन् । निर्वाचन आयोगले गरिरहेको तयारीका बारेमा जानकारी लिन मंगलबार आयोग पुगेका प्रधानमन्त्री ओलीले आयोगलाई निर्वाचनको तयारीको क्रमलाई निरन्तर अगाडि बढाउन सुझाव दिएका हुन् । वैशाख १७ र २७ मा घोषणा गरिएको निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले गरिररहेको तयारीका बारेमा जानकारी लिन प्रधानमन्त्री ओली आयोग गएको र निर्वाचनको तयारीलाई तिव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको र आयोगका तयारी सन्तोषजनक रहेकाले प्रधानमन्त्रीले धन्यवाद दिएको उनले बताए । आयोगका पदाधिकारीसँग नेकपाको विवाद सम्बन्धमा कुनै छलफल नभएको थापाले बतार । तर प्रमुख निर्वाचन आयुक्त थपलियाले नेकपा विवादबारे यसअघि आयोगले दिएको निर्णय र त्यसपछि माघ २० गते आधिकारिकताका लागि प्राप्त भएको अर्को निवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update