नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान गरी आसन्न महाधिवेशनको कार्यतालिका परिमार्जन तथा कम्युनिष्ट सरकारविरुद्ध पार्टीको रणनीति तय गर्नेबारे कांग्रेस शीर्ष नेताहरुको छलफल सोमबारदेखि सुरु भएको छ।
विशेषगरी असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यहरुले बुझाएको १६–बुँदे असहमति पत्रको विषयमा छलफल गरी सहमतिका आधारमा २१ गतेको केन्द्रीय समिति बैठक बस्नेगरी आजको छलफल सुरु भएको हो।
छलफलको सुरुवातमा सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको नालायकी पनका कारण देश र जनताले कोरोना भाइरसको महामारीमाबाट बचाउन हात उठाइसकेको बताउँदै सरकार पूर्ण रुपमा असफल भएको बताएका थिए।
जस्तोसुकै परिस्थितिमा पनि लोकतन्त्रको रक्षा र जनतालाई भरोसा दिने तथा संविधानको रक्षा गर्ने दायित्व कांग्रेसकै रहेको बताउँदै देउवाले पार्टीभित्रको सानातिना विवादमा नअल्झिएर एकताबद्ध भएर कम्युनिष्ट अधिनायकवादविरुद्ध लड्नुको विकल्प नभएको बताएका थिए।
साथै देउवाले पार्टीको विभाग गठनका विषयमा स्पष्ट अडान राख्दै आफू विभाग गठनको विषयमा पछि हट्न नसक्ने तर, बाँकी विषयमा आपसी सहमतिमा मिलाएर पार्टीलाई एकताबद्ध बनाउन कुनै विमति नभएको बताएका थिए।
त्यसपछि सभापति देउवाले उपसभापति विजयकुमार गच्छदारको पुरानो पार्टीसँग भएको एकीकरण पश्चात समायोजनको विषयमा आफ्नो काम कारबाहीबारे जानकारी दिन उपसभापति विमलेन्द्र निधिलाई समय दिएका थिए।
समायोजनको विषयमा उपसभापति निधिले रोल्पा बाहेक अरु सबै जिल्ला सभापतिहरुले विधानको व्यवस्था अनुसार समायोजना गरी क्रियाशील सदस्यता वितरणमा कुनै असहमति नजनाएको जानकारी दिएका थिए।
असन्तुष्ट पक्षले खासगरी रसुवा र सर्लाहीमा क्रियाशील सदस्यता वितरणको प्रक्रियामा आपत्ति जनाएको छ।
वर्तमान तथा पूर्व पदाधिकारी तथा केही शीर्ष केन्द्रीय सदस्यसहितका नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत्तले जानकारी दिए।
महले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने जानकारी दिए।
सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए।
पार्टीभित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महत्तले बताए।
महतले पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समितिबाट पारित गर्ने तयारी भएको जानकारी दिए।
बैठकमा केन्द्रीय सदस्य महेश आचार्यले विधानमा क्रियाशील सदस्यता वितरणबारे दुई अलग अलग व्यवस्था भएको बताउँदै केन्द्र र स्थानीय तहले दिने विषयमा मिलाएर समाधान खोज्नु पर्ने बताएका थिए।
निधिको विचारपछि नेता पौडेलले थप स्पष्टिकरण मागेका थिए।
नेता कृष्णप्रसाद सिटौलाले समिति बनाएर सबै विवाद समाधान गरी अघि बढ्न तथा पूर्व निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्भव नभएकोले जेठसम्ममा गर्नेगरी नयाँ कार्यतालिका तय गर्न सुझाएका थिए।
आज बसेको पदाधिकारी बैठकमा बोल्ने क्रम बाँकी रहेकोले भोलि मंगलबार पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय